काठमाडौं, असोज ६ । जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्री मंगलबार प्रतिनिधि सभाको बैठकमा भावुक हुनुभएको छ ।
बैठकमा बोल्दै उहाँले आफूले ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने आरोप सुन्नुपरेको उल्लेख गर्दै त्यस्तो टिप्पणीले आफूलाई गहिरो पीडा दिएको बताउनुभयो । उक्त आरोप दुर्गा प्रसाईंले लगाएको उहाँको भनाइ थियो ।
सांसद खतिवडाले आफू व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षा वा पदको लालचका कारण संसद्मा नआएको बताउनुभयो । जेनजी आन्दोलनमा भएका बलिदान खेर जान नदिन र सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी गर्न आफू संसद्मा आएको उहाँको भनाइ थियो ।
उहाँले जेनजी आन्दोलनका शहीदहरूले पूर्ण न्याय पाए आफू सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिचकिचाउने बताउनुभयो ।
आफ्नो छोराको मृत्यु र आमाको पीडामाथि राजनीतिक टिप्पणी नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “मेरो संसार उजाडिएको छ, मेरो काख रित्तिएको छ । आज पनि कसैले मेरो छोरा जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु ।”
सांसद खतिवडाले आफू ‘मेडिकल माफिया’ बन्न संसद्मा नआएको समेत स्पष्ट पार्नुभयो । उहाँले शहीद परिवारको पीडालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाउन आग्रह गर्नुभयो ।
रचना खतिवडा खत्री काभ्रेपलाञ्चोकबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद हुनुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्