जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार २०:३५

सांसदहरूलाई सभामुखको निर्देशन– प्रतिनिधि सभाको नियमावली हेर्नू, बैठकमा मर्यादित बन्नू


काठमाडौं, असोज ६ । सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुख अर्यालले सभा सञ्चालनका क्रममा मर्यादा कायम गर्न सबै सांसदलाई आग्रह गर्नुभएको हो ।

उहाँले हरेक दिनको बैठकलाई मर्यादित र उत्कृष्ट बनाउनु सबैको कर्तव्य र दायित्व भएको बताउनुभयो ।

सभामुख अर्यालले सबै सदस्यको पहलमा प्रतिनिधि सभा नियमावली, २०८० लागू भएको स्मरण गराउँदै सोही नियमावलीअनुसार सभा सञ्चालन भइरहेको बताउनुभयो ।

उहाँले प्रतिनिधि सभा नियमावलीको नियम २० र २१ तथा विशेषगरी नियम २० को खण्ड ‘ट’ प्रति सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।

सभामुखको निर्देशनसँगै मंगलबारको बैठक सकिएको छ । प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने जानकारी दिइएको छ ।