काठमाडौं, असोज ६ । टीकापुर घटनामा जन्मकैदको सजाय पाउनुभएका रेशम चौधरीलाई राष्ट्रपतिबाट दिइएको सजाय माफी सर्वोच्च अदालतले सदर गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा गणतन्त्र दिवस, २०८० को अवसरमा चौधरीलाई सजाय माफी दिनुभएको थियो । त्यसविरुद्ध टीकापुर घटनामा मारिनुभएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
रिटमाथि अन्तिम सुनुवाइ गर्दै न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले माफीविरुद्ध दायर रिट खारेज गरेको हो ।
चौधरीलाई कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले सुनाएको जन्मकैदको सजाय सर्वोच्च अदालतले २०८० जेठ २ गते सदर गरेको थियो । त्यसपछि गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट उहाँलाई सजाय माफी दिइएको थियो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका तत्कालीन एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक केशव बोहरासहित सुरक्षाकर्मी र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो ।












प्रतिक्रिया दिनुहोस्