काठमाडौं, असोज ६ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अधिकांश नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई समर्थन गरेको पार्टी सचिव महेश बस्नेतले बताउनुभएको छ ।
ललितपुरमा मंगलबार बसेको बैठकमा ९६ जना केन्द्रीय सदस्यले धारणा राखेको बस्नेतले जानकारी दिनुभएको हो । उहाँका अनुसार केही सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनको आलोचना गरे पनि अधिकांशले समर्थन गर्नुभएको छ ।
बस्नेतले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पार्टीभित्रका समस्या र सरकारका गतिविधिबारे समीक्षा गरेको बताउनुभयो । प्रतिवेदनले पार्टीको आगामी कार्यदिशासमेत तय गरेको उहाँको भनाइ छ ।
पार्टी पुनर्गठन भन्नाले अध्यक्ष वा नेतृत्व परिवर्तन गर्ने विषयलाई मात्र बुझ्न नहुने बताउँदै बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको अवस्थामा नेतृत्वलाई थप बलियो बनाउँदै अघि बढ्ने नीति रहेको बताउनुभयो ।
उहाँले एमालेलाई कार्यकर्तामा आधारित पार्टीका रूपमा व्यवस्थित गर्दै संगठनात्मक संरचना र जनसंगठनलाई थप सुदृढ बनाउने बताउनुभयो ।
बस्नेतले पार्टीलाई थप एकताबद्ध, सुदृढ र बलियो नेतृत्वसहितको सुधारिएको पार्टीका रूपमा स्थापित गर्ने संकल्पका साथ केन्द्रीय कमिटी बैठक सम्पन्न हुने बताउनुभयो ।
एमाले केन्द्रीय कमिटी बैठक बिहीबारसम्म चल्ने बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्