जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार १४:१७

‘मिसन पार्टी जागरण’ सबै पालिकामा सुरु गर्न एमालेको निर्देशन, आवश्यक परे सडक आन्दोलनका लागि पनि तयार रहन आग्रह


काठमाडौं, साउन १८। नेकपा (एमाले)ले ‘मिसन पार्टी जागरण’ लाई पार्टी निर्माणको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउँदै देशभरका सबै पालिकामा प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। अभियानलाई सफल बनाउन पार्टी कमिटीसँगै जनसंगठनहरूलाई समेत परिचालन गरिने एमालेले जनाएको छ।

पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँग आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले जनतासँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले पार्टीका सबै तहका कमिटी तथा जनसंगठनहरूलाई योजनाबद्ध रूपमा परिचालित हुन आग्रह गर्नुभयो।

उहाँका अनुसार हाल जिल्ला कमिटीहरूले बैठकमार्फत अभियानका कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेका छन् भने पार्टीले पालिका तहसम्म केन्द्रीय प्रतिनिधिसमेत परिचालन गरिसकेको छ।

महासचिव पोखरेलले पार्टीको संगठनात्मक आधार विस्तार गर्न वर्ग, समुदाय र पेशागत क्षेत्रलाई समेटेर अभियान सञ्चालन गर्न सुझाव दिनुभयो। पार्टीलाई सुदृढ बनाउन विचार, संगठन र नेतृत्वमा पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै उहाँले जनताको बहुदलीय जनवादलाई थप समृद्ध बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

उहाँले संगठनात्मक पुनर्गठनको काम तल्लो तहबाटै सुरु गर्नुपर्ने बताउँदै स्थानीय कमिटीहरूलाई चलायमान बनाउने, रिक्त पदपूर्ति गर्ने तथा आवश्यक पुनर्गठनका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभयो।

पार्टीमा युवा सहभागिता वृद्धि गर्न विगतमा ल्याइएका नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै महासचिव पोखरेलले ‘मिसन पार्टी जागरण’ अभियान निर्देशनमै सीमित नहोस् भन्नेमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। पार्टीलाई नयाँ ढंगले अघि बढाउने क्रममा सुधार र रूपान्तरण संस्थागत निर्णयका आधारमा गरिने उहाँले स्पष्ट पार्नुभयो।

पार्टी सदस्यता नवीकरण अभियानलाई सफल बनाउन आग्रह गर्दै उहाँले कुनै समस्या आए पार्टी केन्द्रबाट आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो।

देशको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै महासचिव पोखरेलले शासकीय अनुभव नभएका व्यक्तिहरू सरकारमा पुगेकाले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको दाबी गर्नुभयो। विभिन्न स्वार्थ समूहहरूको सक्रियता बढिरहेको उल्लेख गर्दै उहाँले सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अघि बढेको तथा कानुनी प्रक्रिया मिचेर स्वेच्छाचारी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउनुभयो।

उहाँले आवश्यक परे कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि पार्टीका मातहत कमिटीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभयो।

भर्चुअल बैठकमा एमाले सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी सदस्यता नवीकरण अभियानको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै नवीकरणको काम उत्साहजनक रूपमा अघि बढिरहेको बताउनुभयो। उहाँले सदस्यता नवीकरणको समयसीमा असार मसान्तसम्म रहे पनि यो पार्टी संगठन सुदृढीकरणसँग जोडिएको महत्वपूर्ण कार्य भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

बैठकमा प्रदेश अध्यक्षहरूले ‘मिसन पार्टी जागरण’ अभियान, पार्टी सदस्यता नवीकरण तथा समसामयिक संगठनात्मक गतिविधिबारे आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।