जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार १०:१८

१०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ


सर्लाही, साउन १८ । सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहान करिब ५ः३० बजे सो परिमाणको गाजासहित भारतीय पक्राउ परेका हुन ।

गौतमका अनुसार इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गरेको थियो । जाँचका क्रममा बीआर ०९ एम ३७६६ नम्बरको कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकाबाट करिब १०९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाँजासहित कार चालक भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र कारमा सवार सोही स्थानका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको डीएसपी गौतमले जानकारी दिनुभयो ।

प्रहरीले गाँजा, कार तथा दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।