जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार १४:०५

सुनकोशीमा खसेको कारका चालकसहित तीन जनाको पहिचान खुल्यो, खोजी कार्य जारी


सिन्धुली, साउन १८। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरूको पहिचान खुलेको छ। दुर्घटनामा परेका चालकसहित दुईजनाको पहिचान खुलेको भए पनि अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गअन्तर्गत प्रयोग भइरहेको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र वतन नखुलेका एक जना हेल्पर बेपत्ता भएका छन्।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोटसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बसका चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई बससहित खाङसाङ प्रहरी चौकीमा राखिएको छ।

प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोली घटनास्थलमा परिचालित भई सुनकोशी नदीमा खसेको कार तथा बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यलाई तीव्र बनाइएको छ। घटनाबारे थप विवरण आउने क्रम जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ।