जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार २२:०१

सफल नै देखियो बालेन सरकारको चार महिने कार्यकाल


यी सवै घटनाले बालेन सरकार असफल होइन, नेपाल र नेपालीका लागि बोझ हो, कलंकित सरकार हो भन्ने तथ्य स्थापित गर्न र एल्गोरिदमको भ्रममा देश जलाउनेलाई बिश्वास गर्नु पनि अपराध रहेछ भन्ने तथ्य बुझाउन सफल बनेको छ । यति कुरा बुझाउन सफल हुनु भनेको देशको लागि फाइदा नै हो ।

गणेश बस्नेत

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारको नेतृत्व गरेर सिंहदरवारमा छिरेको चार महिना ५  दिन पुगेको छ । यो अवधीमा जनयुद्धकालिन कमाण्डर प्रचण्डको भाषामा ‘क्रमभंगता’ ले प्रचण्डकालमा भन्दा पनि सयौं गुणा छलाङ मारेको छ । प्रचण्डको क्रमभंगताको छलाङ मार्ने असली पात्र बालेन बनेका देखिन्छन ।

देश निर्माण र नागरिकका पीडा मेटाउने योजनाभन्दा आक्रोश, निर्माणभन्दा ध्वंस र कुण्ठाको पोका बोकेर सिंहदरवारमा बिन्दाश बनिरहेका प्रधानमन्त्री बालेन यो चार महिनाको अवधीलाई आफ्ना ती मनभित्र गुम्सिएर बसेका सवै भडास नागरिक र देशसामू पोख्न भरपुर प्रयाश गरिरहेका छन, एक हदसम्म सफल पनि देखिएका छन प्रधानमन्त्री । राजनीति र देश निर्माणको सवालमा दार्शनिकहरूले भनेका छन, ‘हजारौं माइलको यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ ।’ परिवर्तन, स्वाभिमान र समानताका लागि कोरिएका यी शक्दहरूलाई बालेनले धार परिवर्तन गरिदिएका छन, चितवनको रास्वपा महाधिवेशनमा ‘हामीले बाढी ल्याएर नदीको धार परिवर्तन गरेका हौं’ भनेजस्तै ।

बालेनको नजरमा यो नारा ‘बिनाशको अश्त्र’ बनेको छ अर्थात देश सकाउने यात्राको पहिलो पाइला चालिसकेका छन । सत्तामा आएलगत्तै कानूनबिपरित नेता पक्राउ, सुकुम्वासी प्रकरण, श्रृंखलावद्ध आत्मदाहका घटनाहुँदै सुनसरीको कप्तानगञ्जसम्म र तराई मधेशमा फैलिएको धार्मिक घटनासम्मले प्रष्ट संकेत दिइरहेको छ बिनाशका लागि अत्यधिक सफल देखियो बालेन सरकार ।बालेन सरकारको चार महिनाको कामले देश बनाउन आएकै होइन, देश बनाउने भिजन नै छैन, देशका लागि केही गर्नुपर्छ भन्ने भावना पनि छैन, देश त फगत आफ्नो स्वेच्छाचारिताको बन्धक बनाउने हो, संबिधान, कानून केही पनि होइन, जे हो मेरो मनमा कुण्ठित चाहना पूरा गर्ने हो भन्ने भाष्य स्थापित हुन थालेको छ आजभोलि । प्रधानमन्त्री आफै सत्ता सम्हालेको पहिलो दिन नै पूर्वप्रधानमन्त्रीलाई दुई हजार सुरक्षाकर्मी परिचालन गरेर पक्राउको उर्दी जारी गर्छन, कानून सानुन जान्दिन भन्दै दासयुगको सुरुवात भएको आभाष दिन्छन ।

बिनाप्रमाण आरोप लगाएर समात्दै देशका लागि केही गरिरहेकाहरूमाथि चरित्र हत्या गराउँछन, आर्थिक क्षेत्रमा आतंक मच्चाएर लगानीकर्ता तर्साईरहेका छन । आफूले गर्नुपर्ने काम बर्खास्ती छाडेर मध्यराती आफ्नै सरकारको क्याबिनेट मन्त्रीलाई थुन्न प्रहरी प्रमुखलाई आदेश दिन्छन, राष्ट्रप्रमुखलाई संसदमै अपमान गरेर हिडछन, जस्ले जन्मायो, त्यो संस्था केही होइन, हैसियत छैन भन्ने सिधासिधा ब्यवहार गर्छन । प्रधानमन्त्री जन्माउने संस्था संसदको अपमानले प्रधानमन्त्री बालेनमा मातृभूमि र जन्मदाताप्रति थोरै अंश पनि सम्मान वा माया छैन भन्ने प्रष्टै संकेत दिइसकेको छ । यी सवै घटनाक्रमले पनि नचेतेका नागरिकलाई चुपचाप घन्टी छाप लगाएर अपराध गरिएछ भन्ने अनुभूति पनि दिलाउन थालिरहेका छन । बालेन सरकार बिवेक बन्धक राखेर चुपचाप घन्टी छाप हान्ने मतदाताको दिमागको थोरै भएपनि ढक्कन खोल्न सफल नै भएको मान्नुपर्छ ।

यतिबेला बालेन सरकारको उत्कृष्ट कामको परिणामस्वरुप नागरिकले आधारभूत सेवा लिन पनि महाभारत युद्धको कुरुक्षेत्रको सामना गर्न परिरहेको छ । अस्पतालमा सेवा लिन मध्यरातबाटै लाइन, राहदानी लिन आधा महिनादेखि लाइन, ग्यास लिन रातभर लाइन लागेर सुशासनको गज्जवको अनुभूति गरिरहेका छन नागरिक । यस्ता दृष्यहरूले नागरिकलाई बाँच्नका लागि चाहिनेबाहेक सवै सेवा मिल्ने सुशासन दिने एक मात्र सरकार बालेन सरकार नै बनेको प्रमाण दिइरहेको छ । नागरिकलाई यो तहको सुशासनरुपी यातना अहिलेसम्मका कुनै पनि सरकारले दिएकै थिएन । यस्तो सुशासनले देश बन्ने कल्पना होइन, मृत्यूको ब्यापार मात्र बढछ ।

यतिबेला यही भइरहेको छ अर्थात नागरिक मर्दा खुशी हुने शासकको कित्तामा आफूलाई स्थापित गरेर मृत्यूको ब्यापारमा पनि बालेन सरकार अत्यन्तै सफल नै बनिरहेको छ । फागुन २१ को चुनावमा सुशासनको नारा दिएर चुपचाप घन्टी छाप लगाएका जनताले यस अवधीमा सरकारबाट सोचेभन्दा अत्यन्तै ‘राम्रो पीडादायी’ सेवा पाइरहेका छन । यसबीचमा बालेन सरकारको शिकार बनेर तीन जना सुकुम्वासीले प्राण त्यागे । राज्य आफै लागेर नागरिकको हत्या गरेको कुरुप इतिहास यही सरकारले बनायो । आत्मदाहको घटना त ह्वात्तै बढ्यो । अव आत्मदाह जस्तो अति कुरुप घटना सामान्य बन्न थालेको छ ।

गत असारको २५ गते मुगुका गणेश नेपालीले सत्ताको अत्याचारबिरुद्ध गरेको बिद्रोहबाट सुरु भएको आत्मदाहको घटनालाई सरकार ढाकछोपमा लाग्दा ह्वात्तै बढेको हो । गणेश नेपालीपछि काठमाडौंका आश्विन राउत, सर्लाहीका बिवेक मण्डल हुँदै रश्मी रिजालसम्म आउँदा एक दर्जनको हाराहारी भइसकेको छ । बिश्वभर नै तरङ्ग ल्याउने गरी संघीय राजधानी काठमाडौं र मधेश प्रदेशमा भएका आत्मदाहका घटनाले बालेन सरकारको नयाँ सत्ताको कुरुप अनुहारलाई बाहिर ल्याएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय युवा गणेश नेपालीले असार २५ गते आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरे । जीविकाका लागि पठाओ चलाउने गणेश र नगर प्रहरीबीच मोटरसाइकलको ह्विल–लक लगाइएको विषयमा भएको भनाभन र तनाव नै यसको कारण बन्यो ।

यो घटनाको राप सेलाउन नपाउँदै असार २६ गते सर्लाहीको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाए । यस्तै, असार २७ गते काठमाडौँको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाह गरे । काठमाडौंकै बौद्ध गेट नजिकै होटल सञ्चालिक सालू गुरुङले पनि आत्मदाह गरिन । उता धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरीको आत्मदाहबाटै मृत्यु भयो । आत्मदाह यतिमा मात्र सिमित रहेन, अव गाडीमा आगो लगाएर पनि आत्मदाह हुन थालेको छ । राजधानीमै दुई वटा यस्ता घटना भएका छन । कीर्तिपुरको ट्याङ्गलाफाँट क्षेत्रमा साउन ५ गते कारभित्र ७० वर्षीय औषधि व्यवसायी सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरे । त्यो घटना सेलाउन नपाउँदै साउन ९ गते सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट हेड ४५ वर्षीया रश्मी रिजालले काठमाडौंकै तारकेश्वरमा कारभित्रै आफैँलाई आगो लगाएर आत्मदाह गरिन ।

असार २५ बाट सुरु भएको आत्मदाहको घटना दर्जनको हाराहारीमा पुगिसक्यो तर बालेन सरकार ‘रोम जलिरहेछ, निरो बासुरी बजाइरहेछ’ भने जस्तै सिंहदरवारको बन्द कोठामा बिन्दाश पारामा हिन्दी सिनेमाको शैलीमा नागरिक मर्दा आनन्द हुने ब्यवहार देखाइरहेको छ । सुनसरी घटनामा सरकारले देखाएको गैरजिम्मेवारपना त हदैसम्मको निकृष्टपन हो । जुन घटनामा तीन नागरिक मारिएका छन ।यी घटनाहरू बालेन सरकार बनेपछि नै किन बढ्यो ? यो बाध्यात्मक अवस्था नेपाली राज्य संयन्त्रले निम्त्याएको एक गम्भीर दुश्परिणामको उपज हो भन्नेमा कुनै शंका छैन । यी सवै दृयटान्तले पनि बालेन सरकार देश र जनताबाहेक सवैका लागि सोचिरहेको छ भन्ने सच्चाइ बुझाउने सफल बनेको मान्नुपर्छ ।

सरकार लोकतन्त्रभन्दा अन्य बाटोतिर हिडन चाहन्छ, नागरिकलाई सेवा होइन, बाँच्नै नसकेर मृत्यू रोज्ने बाटोमा पुर्याउने सुशासन दिन्छ । कसैको कुरा सुन्दैन, आफ्नो कुण्ठामा रमाउँछ । कसैलाई सम्मान गर्दैन, आफूलाई मात्रै सम्मान गरोस भन्ने ठान्छ । अरुलाई बोल्न पनि प्रतिबन्ध लगाउँछ, आफू मनपरी बोल्छ, सुशासन भन्छ, लाइन लगाएर बिरामीलाई डाक्टरसँग भेटनुअघि नै मृत्यूको मुखमा पुगोस भन्ने काम गरिरहेको छ ।

यी सवै घटनाले बालेन सरकार असफल होइन, नेपाल र नेपालीका लागि बोझ हो, कलंकित सरकार हो भन्ने तथ्य स्थापित गर्न र एल्गोरिदमको भ्रममा देश जलाउनेलाई बिश्वास गर्नु पनि अपराध रहेछ भन्ने तथ्य बुझाउन सफल बनेको छ । यति कुरा बुझाउन सफल हुनु भनेको देशको लागि फाइदा नै हो । चोरलाई छाडेर डाँका रोजेकाहरू पनि पछुताउने अवस्थामा पुर्याउने बालेन सरकारको काम एक हदसम्म भविश्यका लागि थप बिनाश हुनबाट जोगाउने हतियार नै हो, उस्को सफलता नै हो ।