काठमाडौं, साउन १८ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने राजनीतिमै केन्द्रित हुनु कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो कमजोरी बनेको स्वीकार गर्दै आन्दोलनलाई पुनर्जीवित गर्न गम्भीर आत्मसमीक्षा, विगतको समीक्षा र नयाँ कार्यदिशासहित अघि बढ्नुपर्ने बताउनुभएको छ।
२४ औँ बोत्ले स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले “हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसैमा सफलता देख्ने र त्यही नै पर्याप्त हो भन्ने सोचमा चल्यौँ, गल्ती त्यहीँ भयो,” भन्नुभयो। उहाँले सरकार निर्माण र विघटनलाई नै सफलता–असफलताको मापदण्ड बनाउँदा मजदुर, किसान र उत्पीडित समुदायसँग कम्युनिष्ट आन्दोलनको सम्बन्ध क्रमशः कमजोर बन्दै गएको बताउनुभयो।
उहाँले केन्द्रमा देखिएको यही प्रवृत्ति प्रदेश र स्थानीय तहसम्म फैलिएको उल्लेख गर्दै “मन्त्री बन्ने र प्रधानमन्त्री बन्नेतिरै केन्द्रित भएको देखेपछि प्रदेशका नेताहरू पनि मन्त्री र मुख्यमन्त्री बन्नेमै केन्द्रित हुनु स्वाभाविक भयो, हामी कम्युनिष्ट आदर्शबाट कहीँ न कहीँ विचलित भयौँ,” भन्नुभयो।
प्रचण्डले नेताहरूको जीवनशैलीका कारण पनि जनविश्वास कमजोर बनेको धारणा राख्दै “नेताहरू सदरमुकाम र राजधानीमा बस्ने र उनीहरूको जीवनशैली हेर्दै जाँदा यी कम्युनिष्टजस्ता छैनन् भन्ने महसुस जनतामा विस्तारै हुन थाल्यो,” भन्नुभयो।
उहाँले कम्युनिष्ट आन्दोलनका विगतका अनुभवबारे सामूहिक रूपमा अनुसन्धान र गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै “हामीले विगतको समीक्षा गर्ने, गम्भीर रूपमा विमर्श गर्ने, त्यसको आत्मसमीक्षा गर्ने र अगाडिको लागि नयाँ कार्यदिशा, कार्यक्रम र नीति निर्धारण गर्ने मुख्य आवश्यकता छ,” भन्नुभयो।
उहाँले झण्डै दुई तिहाइ बहुमतको सरकारका काम, कारबाही र गतिविधिले जनतामा सन्त्रासको अवस्था सिर्जना गरेको दाबी गर्दै अब पुरानै शैलीमा अघि बढेर कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न नसकिने बताउनुभयो। “अब पुरानै तरिकाले हुँदैन, नयाँ तरिकाले जानुपर्छ,” भन्दै उहाँले इतिहासका कमजोरीबाट शिक्षा लिएर नयाँ सङ्कल्प र दृढताका साथ आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विभिन्न कम्युनिष्ट नेताहरूले व्यक्त गर्नुभएका धारणा मूलतः विगतका कमजोरीको समीक्षा, आत्मसमीक्षा र नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने विषयमा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले निराश हुनुपर्ने अवस्था नरहेको र एकताबद्ध प्रयासबाट आन्दोलनलाई पुनः सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्