जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार १९:२२

केपी–प्रचण्ड र माधवको टाउको जोडेर मात्रै अव वामपन्थी एकता हुँदैन : शंकर पोखरेल


काठमाडौं, साउन १८ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वामपन्थी मतदाता पार्टीबाट टाढिँदै गएको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभएको छ।

२४ औँ बोत्ले स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालको वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट पछि पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। “आज हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डै–झण्डै टाढिने खालको स्थितिमा पुगेका छौँ। पहिलो पनि होइन, दोस्रो पनि होइन, तेस्रो र चौथो हुने अवस्थामा नेपालको वामपन्थी आन्दोलन पुगिसकेको छ,” भन्दै उहाँले इतिहासबाट पाठ सिकेर वर्तमानका चुनौती सामना गर्दै भविष्यको स्पष्ट सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

महासचिव पोखरेलले कम्युनिष्ट आन्दोलनप्रति युवाको आकर्षण घट्दै गएको उल्लेख गर्दै “क्रान्तिलाई अगाडि बढाउन फ्रन्टलाइनमा उभिने युवा हुन्त र आज हामीसँग युवा आकर्षित भइरहेका छैनन्, हाम्रा युवालाई आकर्षित गर्न सकेका छैनौँ,” भन्नुभयो।

उहाँले नेकपा गठन र विघटनकै कारण कम्युनिष्ट आन्दोलन कमजोर बनेको धारणा व्यक्त गर्दै वामपन्थी एकताअघि विगतको समुचित समीक्षा आवश्यक रहेको बताउनुभयो। “विगतको समीक्षा नगरी फेरि नेताहरूको टाउको जोडेर मात्रै वामपन्थी एकता हुँदैन, नेताहरूको टाउको होइन कार्यकर्ताको भावना जोड्न सक्नुपर्छ, त्यसले नै वामपन्थी एकता हुन सक्छ,” भन्दै उहाँले केवल शीर्ष नेताबीचको सहमतिले मात्र दिगो एकता सम्भव नहुने धारणा राख्नुभयो।

उहाँले आजको युगको आवश्यकता अनुसार कम्युनिष्ट पार्टीलाई रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै त्यसबाट मात्रै आन्दोलनको भविष्य सुरक्षित हुने बताउनुभयो। विषय मिल्दा एक हुने र नमिल्दा फुट्ने प्रवृत्तिले कम्युनिष्ट पार्टीप्रति नागरिकको विश्वास कमजोर बनाएको उल्लेख गर्दै वामपन्थी मतदाता दक्षिणपन्थीतर्फ आकर्षित भएपछि उनीहरूलाई पुनः फर्काउन निकै जटिल हुने उहाँको भनाइ थियो।

महासचिव पोखरेलले संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता तथा वामपन्थी आन्दोलन गम्भीर चुनौतीमा रहेको उल्लेख गर्दै लोकतन्त्र, संविधान र राष्ट्रको रक्षाका लागि राजनीतिक दलहरूबीच गहिरो सम्बन्ध र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले “लोकतन्त्र, संविधान र देशको रक्षाका लागि राजनीतिक दलहरूबीच सहकार्य हुन सके मात्रै वामपन्थी आन्दोलन समाप्त गर्ने षड्यन्त्रलाई चिर्न सकिन्छ,” भन्दै सबै लोकतान्त्रिक शक्तिबीच सहकार्यको आवश्यकता औँल्याउनुभयो।