जनता टाइम्स

१९ श्रावण २०८३, मंगलवार १३:४२

सरकारसँग हर्क साम्पाङ प्रश्न : यो देशमा कति थरि सेना छ ?


काठमाडौं, साउन १९ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज  सम्पाङ राईले देशमा निर्वाचित जनप्रतिनिधिसमेत स्वतन्त्र रूपमा हिँड्न नसक्ने अवस्था सिर्जना भएको भन्दै सरकारको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाउनुभएको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै अध्यक्ष राईले आफूलाई जनकपुरमा रोकिएको घटना उल्लेख गर्दै देशमा एउटा सांसदलाई समेत निर्बाध रूपमा हिँड्न सक्ने अवस्था नरहेको बताउनुभयो।

उहाँले सुनसरीमा दुई समुदाय बिच भएको विवाद पछि प्रहरीले चलाएको गोली लागि युवाहरूको ज्यान गएको तथा हिंसात्मक आन्दोलन पछि गृहमन्त्रीले हिन्दु सम्राट सेनासँग गरेको वार्ता र सहमतिका विषयलाई लिएर सरकारको सुरक्षा नीतिमाथि प्रश्न उठाउनु भएको छ ।  “हामीले बुझेको सेना नेपाली सेना हो, तर सरकार अरू–अरू सेनासँग वार्ता गरिरहेको छ, यो देशमा आखिर कति वटा सेना छन् ?” भन्दै सरकारबाट स्पष्ट जवाफ माग गर्नुभयो।

अध्यक्ष राईले सरकारलाई घटना घटिसकेपछि मात्र सक्रिय हुने प्रवृत्ति त्याग्न आग्रह गर्दै सुरक्षा व्यवस्थालाई पूर्वतयारीमुखी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारले घटना भएपछि मात्र प्रतिक्रिया दिने होइन, घटना नै हुन नदिन ‘प्रोएक्टिभ’ ढङ्गले काम गर्नुपर्ने बताउनुभयो।

उहाँले हिंसा र तनावका घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा रणनीति अपनाउन तथा नागरिक र जनप्रतिनिधिको सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।