जनता टाइम्स

१९ श्रावण २०८३, मंगलवार १३:२३

कप्तानगञ्ज गोलीकाण्ड : उपचाररत रवीन्द्र मेहताको पनि निधन, मृतक संख्या तीन पुग्यो


काठमाडौं, साउन १९ । सुनसरीको कप्तानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ।

घटनालगत्तै थप उपचारका लागि काठमाडौं ल्याइएका उहाँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारकै क्रममा मंगलबार बिहान निधन भएको हो। प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार उहाँको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेकाले शरीरमा लागको गोली निकाल्न सम्भव भएको थिएन। उहाँको निधनसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ।

सुनसरीको कप्तानगञ्जमा दुई समुदायबिच भएको विवाद उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा प्रहरीको गोली लागेर १० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए।

यस घटनाको विरोधमा सिरहामा भएको प्रदर्शनका क्रममा पनि प्रहरीको गोली लागेर एक बालकको ज्यान गएको थियो। कप्तानगञ्ज घटनापछि उत्पन्न तनावका कारण तराईका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।