जनता टाइम्स

१९ श्रावण २०८३, मंगलवार १४:००

सरकालाई रास्वपा सांसद अमरेशकुमार सिंहको प्रश्न : मधेसमा आन्दोलन हुनासाथ किन गोली नै चलाइन्छ ?  


काठमाडौं, साउन १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेसमा हुने आन्दोलनका क्रममा बल प्रयोगको शैलीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै गोली चलाउने प्रवृत्तिमाथि प्रश्न उठाउनुभएको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उहाँले हरेक आन्दोलनमा मधेसमा किन सिधै गोली चलाइन्छ भन्दै प्रश्न गर्नुभयो। उहाँले स्थिति नियन्त्रणका लागि लाठीचार्ज, पानीको फोहोरा वा अश्रुग्याँसजस्ता अन्य विकल्प प्रयोग नगरी घातक बल प्रयोग गरिनु चिन्ताजनक रहेको बताउनुभयो। ‘हरेक पटकको आन्दोलनमा मधेसमा किन सोझै गोली मात्रै चल्छ ? किन लाठी चल्दैन ? किन पानीका फोहोरा चल्दैन ? किन टियरग्याँस चल्दैन ?’ उहाँले भन्नुभयाे ।

सांसद सिंहले नेपाल प्रहरीले प्रयोग गर्ने हतियारबारे पनि प्रश्न उठाउँदै ढुङ्गा प्रहारजस्ता घटनामा समेत स्वचालित हतियार प्रयोग गरिने प्रवृत्तिको समीक्षा गर्न सरकारसँग माग गर्नुभयो।

उहाँले मधेसमा आन्दोलन सुरु हुने बित्तिकै ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने तर शिक्षा र विकासका क्षेत्रमा आवश्यक लगानी नगरेको आरोप लगाउनुभयो। मधेसमा अशिक्षा र गरिबी अझै विद्यमान रहेकाले सुरक्षाकर्मी थप्नुको सट्टा शिक्षक तथा विकासका पूर्वाधारमा सरकारले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

सांसद सिंहले मधेसलाई पछाडि पार्ने नीति स्वीकार्य नहुने भन्दै आन्दोलनका नाममा गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग आग्रह गर्नुभयो।