काठमाडौं, साउन १९ । नेकपा एमालेले सुनसरी र सिरहामा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले यस्तो अडान राख्नुभएको हो । सरकारको कमजोरी र लापर्वाहीका कारण नागरिकले ज्यान गुमाउनु परेको भन्दै सांसद बरालले घटनामा प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार रहेको बताउनु भयो ।
सांसद बरालले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसपछि उत्पन्न परिस्थितिका कारण चार जना निर्दाेष युवाको ज्यान गएको जनाउँदे यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताउनु भयो ।
‘यदि समयमै सामान्य हातहतियार प्रदर्शनलाई नियन्त्रण गरी शान्ति–सुरक्षा कायम गर्न सकेको भए यस्तो दुर्भाग्यपूर्ण अवस्था आउने थिएन । त्यसैले यी चार जना निर्दाेष युवाको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ,’ बरालले भन्नुभयो । उहाँले सरकारले गरिरहेको हालको छानबिन प्रक्रियाप्रति पनि असन्तुष्टि जनाउनु भयो । ती घटनाबारे छानविन गर्न निष्पक्ष र अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने बरालले माग गर्नुभयो ।
‘छानबिन न्यायिक हुनुपर्छ । तजबिजी ढङ्गबाट बनाइएको छानबिन समितिले न्याय दिन सक्दैन । त्यसैले पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गरी यस घटनाको यथोचित कारण पत्ता लगाउन र स्थायी समाधान खोज्न म सरकारसँग माग गर्दछु,’ बरालले भन्नुभयो । सुनसरी घटनामा मंगलवार काठमाडौंमा थप एक जनाको मृत्यू भएपछि ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

यस्तै बरालले विराटनगरमा प्रतिष्ठित औद्योगिक घराना देवेनरा ग्रुपमाथि गरिएको छापाको शैलीप्रति पनि आपत्ति जनाउनु भयो । ब्यापारी तर्साएर मानमर्दन गर्ने शैलीले देशलाई हित नहुने उहाँको भनाई थियो । यस्तै उहाँले पछिल्लो समय देशमा महंगीले सीमा नाघेको तर सरकार चुपचाप बसेर नागरिकमाथि अत्याचार गरिरहेको भन्दै कडा आपत्ति जनाउनु भयो ।
सांसद बरालले देशमा महँगी बढेको, ग्यासका लागि नागरिकले लामो समय लाइनमा बस्नुपरेको र अस्पतालमा सेवा लिन बिरामी लाइन बस्नु परिरहेको र सरकारले आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको कडा आलोचना गर्नुभयो । अस्पतालमा बिरामीले सेवा लिन घन्टौं लाइनमा बस्नुपर्ने, ग्यासको लाइन, पार्सपोर्टका लाइन, जताततै लाइन लाग्न बाध्य बनाएर सुशासनको गफ नचुटन बरालेको सुझाव थियो ।













प्रतिक्रिया दिनुहोस्