जनता टाइम्स

१९ श्रावण २०८३, मंगलवार १५:०५

शान्ति भनेको कर्फ्यु हटाउनु वा सडक खोल्नु मात्र होइन, नागरिकको मनबाट डर हट्नु र न्यायप्रति विश्वास जाग्नु  हो : निष्कल राई


काठमाडौं, साउन १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले गृहमन्त्री सुधन गुरुङले धनुषामा हिन्दु सम्राट सेनसँग गर्नुभएको १३ बुँदे सहमतिप्रति प्रश्न उठाउँदै सरकारले सबै नागरिकको साझा अभिभावकका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सचेतक राईले सुनसरीमा उत्पन्न धार्मिक तथा साम्प्रदायिक तनाव व्यवस्थापनका क्रममा एउटा समूहसँग गरिएको १३ बुँदे सहमतिले अर्को पक्षलाई उपेक्षित बनाउने अवस्था सिर्जना हुन सक्ने टिप्पणी गर्नुभयो।

उहाँले शान्ति कायम गर्ने नाममा कुनै एक पक्षसँग मात्र गरिएको सहमतिले अर्को पक्षमा असन्तोष बढाउने आधार तयार गर्न नहुने बताउनुभयो। संवेदनशील विषयमा सरकारले सबै समुदायलाई समान रूपमा विश्वासमा लिएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सचेतक राईले एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शङ्काको दृष्टिले हेरिएको अनुभूति गर्न नहुने उल्लेख गर्दै गृहमन्त्रीको पछिल्लो गतिविधिले त्यस्तो अवस्था सिर्जना गरेको टिप्पणी गर्नुभयो।  ‘शान्ति कायम गर्ने नाममा  एउटा पक्षसँग गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नु हुँदैन,’ उहाँले भन्नुभयो ।

उहाँले शान्तिलाई केवल कर्फ्यु हटाउने वा सडक सञ्चालन गर्ने विषयका रूपमा मात्र नबुझ्न आग्रह गर्दै नागरिकको मनबाट डर हट्नु, न्यायप्रति विश्वास स्थापित हुनु र समुदायबिच आपसी सद्भाव पुनः कायम हुनु नै वास्तविक शान्ति भएको बताउनुभयो।  ‘शान्ति भनेको कर्फ्यु हटाउनु वा सडक खोल्नु मात्र होइन, नागरिकको मनबाट डर हट्नु, न्यायप्रति विश्वास जाग्नु र एक समुदायले अर्को समुदायलाई पुनः आफ्नो छिमेकीका रूपमा हेर्न सक्नु हो,’ उहाँले भन्नुभयो ।

राईले तराई–मधेसमा थप तनाव फैलिन नदिन प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय सरकार, सुरक्षा निकाय तथा धार्मिक अगुवाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि संयम, संवाद र सहकार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गर्नुभयो।