जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार ०७:४२

म्याग्दीमा प्रहरीको ‘ब्राबोसेरा’ अभियान : १७२ थान अवैध भरुवा बन्दुक बरामद


काठमाडौं, मंसिर ३ । वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले म्याग्दी प्रहरीले सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियान प्रभावकारी बन्दै गएको छ ।

अभियानअन्तर्गत हालसम्म जिल्लाका विभिन्न स्थानबाट इजाजतबिना लुकाएर राखिएका १७२ थान भरुवा बन्दुक बरामद भएका छन् । पछिल्लोपटक बुधबार मालिका गाउँपालिका–५ मगरदाङको घरथोकस्थित वन क्षेत्रमा लुकाइएका सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले वन क्षेत्रमा खोजतलास गर्ने क्रममा ती बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि गत आइतबार पनि सोही वडाको पन्थोकस्थित वन क्षेत्रबाट पाँच थान भरुवा बन्दुक बरामद भएका थिए ।

म्याग्दी प्रहरीले २०८२ मंसिर १५ गतेदेखि अवैध हातहतियार नियन्त्रणका लागि अभियान सञ्चालन गरेको हो । ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र तथा सामुदायिक वनमा हुने वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार अवैध बन्दुक वन्यजन्तुको चोरीसिकारमा मात्र नभई आपसी विवाद, झैझगडा तथा अन्य आपराधिक गतिविधिमा समेत प्रयोग हुन सक्ने जोखिम छ । यही जोखिम न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले जिल्लाका छवटै स्थानीय तहका वनजङ्गल, गोठ, खोल्साखोल्सी, रूखका टोड्का तथा पुराना घरगोठमा खोजतलास गर्दै आएको छ । स्थानीयवासीबाट प्राप्त सूचना, जनप्रतिनिधिको समन्वय र प्रहरीको सक्रियताका आधारमा अधिकांश हतियार बरामद भएका हुन् ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाले समुदायको सहयोगले अभियान प्रभावकारी बनेको बताउनुभयो । उहाँले अवैध हतियार लुकाएर राखिएको स्थानबारे सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने जानकारी दिँदै प्रहरीलाई सहयोग गर्न स्थानीयवासीसँग आग्रह गर्नुभयो ।

कानुनी व्यवस्थाअनुसार इजाजतबिना हातहतियार राख्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

अवैध हातहतियार नियन्त्रण, वन्यजन्तुको चोरीसिकार रोकथाम र जिल्लामा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने म्याग्दी प्रहरीले जनाएको छ ।

समाचारलाई छोटो र धारिलो बनाउनुहोस्हेडलाइनलाई अझ प्रभावकारी बनाउनुहोस्