काठमाडौं, मंसिर ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा काठमाडौं पुग्नुभएका नेकपाका नेता सुरेश पन्थमाथि घण्टीघर परिसरमा हातपात भएको छ ।
बर्दियाबाट आफू निकट डेढ दर्जन नेता–कार्यकर्तासहित रास्वपा प्रवेशको तयारीका लागि काठमाडौं आउनुभएका पन्थमाथि बुधबार महिलाहरूको समूहले सार्वजनिक स्थानमै हातपात गरेको हो ।
निर्वाचनका बेला भएको आर्थिक लेनदेनको विवादलाई लिएर बर्दियाको मधुवन नगरपालिका–७ की जानुका पौडेलसहितका महिलाले उहाँमाथि हातपात गरेको बताइएको छ ।
सार्वजनिक भएको भिडियोमा महिलाहरूले आफूसँग लिएको रकम नतिरेको र ठगी गरेर भागेको आरोप लगाउँदै आक्रोश व्यक्त गरेको देखिन्छ । उनीहरूले यसअघि नै पन्थविरुद्ध प्रहरीमा उजुरी दिएको तर कारबाही नभएको दाबीसमेत गरेका छन् ।
घटनापछि पन्थसँगै रहनुभएका व्यक्तिहरूले महिलाहरूलाई रोक्ने प्रयास गर्नुभएको थियो । केहीबेर तनाव भएपछि प्रहरीले हस्तक्षेप गरी पन्थलाई नियन्त्रणमा लिएको र महिलाहरूलाई शान्त पारेको जनाइएको छ ।
यद्यपि, आर्थिक लेनदेनको वास्तविकता र विवादको विस्तृत विवरण भने सार्वजनिक भएको छैन । महिलाहरूले रकम नतिरेको आरोप लगाए पनि पन्थ पक्षले रकम लिएर केही भुक्तानी गरिसकेको दाबी गरेको छ । सार्वजनिक स्थानमा हातपात गर्नु उचित नभएको उहाँहरूको तर्क छ ।
पन्थ नेकपाबाट दुई पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएको नेता हुनुहुन्छ । पछिल्लो समय रास्वपाको पक्षमा अभिव्यक्ति दिँदै आउनुभएका उहाँ पार्टी प्रवेशका लागि काठमाडौं पुग्नुभएको बताइएको छ । तर, नेकपाबाट औपचारिक रूपमा राजीनामा भने नदिनुभएको पार्टीका बर्दिया सहइञ्चार्ज दुर्गाबहादुर थारु कविरले बताउनुभएको छ ।
पन्थसँगै रहनुभएका नेता हेमन्त आचार्यले निर्वाचनकै समयदेखि आर्थिक लेनदेनको विवाद रहेको र पार्टी प्रवेशको पूर्वसन्ध्यामा घटना भएको बताउनुभएको छ । उहाँले घटनालाई नियोजित आक्रमणको संज्ञा दिनुभएको छ ।
यसैगरी, घटनाका बेला पन्थलाई बचाउन पुग्नुभएकी मेनका चौधरीले आर्थिक विवाद भए कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्ने भन्दै सार्वजनिक स्थानमा हातपात गर्न नहुने बताउनुभएको छ ।
पन्थसहितका नेताहरू बुधबार रवि–बालेन समूहसँग छलफल गरी रास्वपा प्रवेश गर्ने कार्यक्रमअनुसार काठमाडौं आउनुभएको बताइएको थियो । तर, घण्टीघर परिसरमा भएको घटनापछि पार्टी प्रवेशको कार्यक्रम प्रभावित भएको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्