काठमाडौं, मंसिर ३ । जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले पार्टी परित्याग गरेका जनप्रतिनिधिहरूको निर्वाचित पद रिक्त भएको निर्णय गर्दै यससम्बन्धी सूचना सार्वजनिक गरेको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ ।
आयोगका अनुसार जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी पार्टी त्याग गरेको भन्दै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको विवरण र निर्णयको प्रतिलिपिसहित आयोगलाई जानकारी गराएको थियो ।
पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयसहित प्राप्त जानकारीका आधारमा आयोगले मंसिर २ गते ती जनप्रतिनिधिहरूको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय गरेको हो । आयोगले सार्वजनिक गरेको विवरणअनुसार सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ तथा भोजपुर, उदयपुर, इलाम र सुनसरीका एक–एक जना जनप्रतिनिधि पदमुक्त भएका छन् ।
पद रिक्त हुनेहरूमा सिरहाको लहान नगरपालिकाका उपप्रमुख राम चरित्र महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार महतो रहनुभएको छ ।
त्यसैगरी, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष संजयकुमार पटेलको पद पनि रिक्त भएको छ ।
खोटाङबाट जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका विभिन्न पदमा निर्वाचित ६ जना जनप्रतिनिधिको पद रिक्त भएको आयोगको विवरणमा उल्लेख छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट वडा नम्बर १० का वडाध्यक्ष मुगाधन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक तथा वडा सदस्यहरू रामधन राई र शहरमनी राईको पद रिक्त भएको छ । त्यस्तै, वीरेन्द्रकुमार दर्नालको नगर कार्यपालिका सदस्य पद पनि रिक्त भएको छ ।
यसैगरी, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष डालबहादुर गुरुङ तथा सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कोडगियाको पदसमेत रिक्त भएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्