काठमाडौं, मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपीएल) २०८३ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछन् ।
यो खेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ ।
सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको हो । शुक्रबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको थियो ।
यता, लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो ।
पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो क्वालिफायर जितेर फाइनल पुगेको सुदूरपश्चिम पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ । साविक विजेता लुम्बिनी भने उपाधि रक्षा गर्ने योजनासहित मैदानमा उत्रिनेछ ।













प्रतिक्रिया दिनुहोस्