जनता टाइम्स

५ मंसिर २०८३, शनिबार ०७:५८

सुन्दरीजलको होल्डिङ सेन्टरबाट हट्न दबाब, ३५ बाढीपीडित अलपत्र


काठमाडौं, मंसिर ५ । काठमाडौंको सुन्दरीजलस्थित होल्डिङ सेन्टरबाट बाहिरिन दबाब परेपछि रसुवाका ३५ जना बाढीपीडित अलपत्र परेका छन् ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण विस्थापित भएका आमाछोदिङ्मो गाउँपालिका हाकुबेंसीका बासिन्दा तीन महिनादेखि सुन्दरीजलको बीपी चोकस्थित होल्डिङ सेन्टरमा आश्रय लिँदै आएका थिए ।

आश्रय दिँदै आएका स्थानीय लामागुरुले तत्काल ठाउँ खाली गर्न भनेपछि पीडितहरू समस्यामा परेका हुन् । कोठा खोज्न सक्ने केही परिवार डेरामा सरे पनि करिब ३५ जना अझै होल्डिङ सेन्टरमै बसिरहेका छन् ।

पीडितका अनुसार रसुवाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा मंसिर ३ गतेसम्म बस्ने व्यवस्था मिलाइएको थियो । त्यसपछि सरकारी प्रतिनिधिहरू आउने भनिए पनि नआएको उनीहरूको गुनासो छ ।

बिहीबार गाउँपालिका अध्यक्ष होल्डिङ सेन्टर पुगेपछि पीडितहरूले आफ्नो समस्या राखेका थिए । भान्साका सामग्री हटाउन लागिए पनि केही सामान फिर्ता ल्याएर खाना पकाउने व्यवस्था मिलाइएको छ ।

शनिबार बिहान ९ बजे काठमाडौंका प्रमुख जिल्ला अधिकारी होल्डिङ सेन्टर पुग्ने भनिएको छ । तर, त्यसपछि आफूहरू कहाँ जाने र कसरी गुजारा चलाउने भन्ने अन्योलमा रहेको पीडितहरूले बताएका छन् ।

तीन महिनादेखि अस्थायी आश्रयमा बसिरहेका बाढीपीडितले तत्काल वैकल्पिक बसोबासको व्यवस्था मिलाउन सम्बन्धित सरकारी निकायसँग माग गरेका छन् ।