जनता टाइम्स

५ मंसिर २०८३, शनिबार ०८:०६

घोप्टेभीरमा पहिरोको जोखिम हटाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द


काठमाडौं, मंसिर ५ । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।

बन्द अवधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिनेछ । सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा सो अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने उल्लेख छ ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।