काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भोलि मंसिर ६ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुहुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमण प्रधानमन्त्री शाहको गत चैत १३ गते पदभार सम्हालेपछिको पहिलो औपचारिक विदेश भ्रमण हो । उहाँ दिउँसो १ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्नुहुनेछ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग c कार्यक्रम छ ।
दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्रीको भ्रमणले नेपाल र भारतबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोली ३४ सदस्यीय हुनेछ । टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनुहुनेछ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन् ।













प्रतिक्रिया दिनुहोस्