- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकारदेखि कांग्रेस नेता उमेश श्रेष्ठ र सभापति गगनसँग देखियो सम्पर्क सञ्जाल
- एक वर्षमा एउटै बैंक खातामा ६ करोड ३१ लाख रुपैयाँको कारोबार, रकमको स्रोत र प्रयोजनबारे आवश्यक देखियो गम्भीर अनुसन्धान
काठमाडौं, मंसिर ५ । दुई वर्षअघि निजी विद्यालयमा मासिक ४० हजार रुपैयाँ तलबमा प्राविमा पढाउने एक शिक्षक अर्थात हालको चर्चित बिचौलिया इनम सापकोटाको बैंक खातामा एक वर्षमै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको विवरण सार्वजनिक भएको छ ।
सामान्य शैक्षिक पृष्ठभूमिबाट आएका इनमको खातामा यति ठूलो रकम कसरी पुग्यो ? कसले पठायो ? कुन प्रयोजनका लागि पठायो ? र रकम जम्मा भएको केही समयमै विभिन्न कम्पनीका खातामा किन स्थानान्तरण गरियो ? यी प्रश्न अहिले केवल एउटा व्यक्तिको बैंकिङ कारोबारमा सीमित छैनन् । सार्वजनिक भएका विवरणले राजनीतिक नेतृत्व, व्यावसायिक घराना, पूर्वन्यायिक नेतृत्व र विभिन्न शक्तिकेन्द्रसँग जोडिएको एउटा सम्पर्क सञ्जालतर्फ पनि अनुसन्धानको ध्यान तानेको छ ।
यस प्रकरणमा सबैभन्दा बढी चासोको विषय बनेको छ- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठबाट इनम सापकोटाको खातामा जम्मा भएको १ करोड ४२ लाख ५० हजार रुपैयाँ । कांग्रेसको बिशेष महाधिवेशनलाई बैधानिकता दिन सेटिङ गरिएको भन्ने अडियो बाहिर आइसकेको अवस्थामा कांग्रेस सभापति गगन थापाकै बिश्वासपात्र उमेशका भाई महेशको खाताबाट यत्रो रकम जम्मा भएको देखिएपछि थप रहष्य पनि बनेको छ ।
१ करोड ४२ लाख ५० हजारको हिसाब : सात पटकमा रकम जम्मा
कान्तिपुर दैनिकले मंसिर १ गते सार्वजनिक गरेको बैंकिङ कारोबारको विवरणअनुसार महेश श्रेष्ठले विभिन्न मितिमा सात पटक गरेर इनम सापकोटाको खातामा १ करोड ४२ लाख ५० हजार रुपैयाँ जम्मा गरेको देखिएको छ । पत्रकार गौरव पोखरेलको खोज सामाचार विवरणअनुसार १८ जेठ २०८३ मा १० लाख रुपैयाँबाट सुरु भएको कारोबार असार र साउनमा थप बढेको देखिएको छ । असार १७ गते २० लाख रुपैयाँ जम्मा भएको छ भने साउन ५ गते प्राइम कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकका चेकमार्फत एकै दिन ६० लाख रुपैयाँ जम्मा भएको विवरण छ ।
त्यसको भोलिपल्ट सापकोटाको खाताबाट हिमालयन फ्लोरा इन्टरप्राइजेज प्रालिको खातामा ४५ लाख ७० हजार रुपैयाँ स्थानान्तरण भएको देखिन्छ । यस्तै साउन ७ गते महेशका नामबाट थप ४० लाख रुपैयाँ जम्मा भएको विवरण पनि सार्वजनिक भएको छ । सो रकमको वास्तविक स्रोत के हो ? महेश श्रेष्ठले व्यक्तिगत रूपमा पठाउनुभएको हो वा कुनै व्यावसायिक प्रयोजनका लागि रकम प्रवाह गरिएको हो ? सापकोटा र महेशबीचको आर्थिक सम्बन्धको आधार के थियो ? यी प्रश्नको स्पष्ट जवाफ हालसम्म सार्वजनिक भइसकेको छैन।
काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेलाई उद्धृत गर्दै प्रकाशित समाचारमा सापकोटासँगको आर्थिक कारोबार देखिएपछि महेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरिएको हो ।
उमेश श्रेष्ठको संस्थासँग पनि जोडियो आर्थिक कारोबार
यो प्रकरणलाई थप चासोको विषय बनाउने अर्को विवरण हो– कांग्रेस नेता उमेश श्रेष्ठ अध्यक्ष रहेको जनमैत्री फाउन्डेसनबाट सापकोटाको खातामा गएको २० लाख रुपैयाँ । बैंकिङ विवरणअनुसार १५ भदौ २०८३ मा फाउन्डेसनको प्राइम कमर्सियल बैंकस्थित खाताबाट चेकमार्फत उक्त रकम सापकोटाको खातामा जम्मा भएको छ । त्यस्तै, श्रीवृद्धि इन्भेस्टमेन्ट प्रालिबाट सापकोटाको खातामा एक करोड रुपैयाँ आएको र त्यसलाई उनले तत्कालै क्यापिटल म्यासज सेक्युरिटी लिमिटेडको खातामा स्थानान्तरण गरेको विवरण पनि सार्वजनिक भएको छ ।
अर्थात् सापकोटाको खातामा विभिन्न व्यक्ति र संस्थाबाट आएको रकम केवल व्यक्तिगत खातामै सीमित रहेको देखिँदैन । त्यो रकम विभिन्न व्यावसायिक संस्थाका खातामा पनि प्रवाह भएको विवरण छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतहरूले मिडियासँगको कुराकानीमा दिएको भनाईअनुसार सापकोटा र उमेश श्रेष्ठबीच जग्गासम्बन्धी विषयमा ह्वाट्सएप कुराकानी भएको तथा जग्गाको धनीपुर्जाका तस्बिर आदानप्रदान भएको छ । यसले उमेश श्रेष्ठ र सापकोटाबीचको सम्बन्धको प्रकृति के थियो भन्ने प्रश्न उठाएको छ ।
के यो सामान्य व्यावसायिक सम्बन्ध थियो ? जग्गा कारोबारको सिलसिला थियो ? वा अन्य कुनै आर्थिक प्रयोजनका लागि सम्पर्क भएको थियो ? यी प्रश्नको जवाफ अनुसन्धानले दिनुपर्ने देखिएको छ ।
देउवाको निकटतादेखि गगनको नेतृत्वसम्म : राजनीतिक सम्बन्धको चर्चा
इनमको प्रकरणमा उमेश श्रेष्ठको राजनीतिक यात्रा पनि महत्वपूर्ण देखिन्छ । उहाँ नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष हुनुहुन्छ । यसअघि शेरबहादुर देउवा नेतृत्वको पार्टी संरचनामा महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका श्रेष्ठ पछिल्लो राजनीतिक ध्रुवीकरणमा गगन थापा नेतृत्वको पक्षमा उभिनुभएको छ । श्रेष्ठलाई गगन थापाको राजनीतिक समूहसँग जोड्दै कांग्रेसको आधिकारिकता विवाद र इनम सापकोटासँग जोडिएका आर्थिक कारोबारबारे प्रश्न उठाइएको छ ।
न्यूज २४ का अनुसार कांग्रेसको आधिकारिकता विवादका क्रममा आर्थिक लेनदेन भएको आरोप लागेको छ । यही आरोपबीच उमेश श्रेष्ठका भाइको सापकोटासँग देखिएको बैंकिङ कारोबार र उमेश श्रेष्ठको राजनीतिक भूमिकाबीच कुनै सम्बन्ध छ कि छैन ? भन्ने चासो यतिबेला बढेको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारसँग पनि सम्पर्क
इनम सापकोटाको सम्पर्क सञ्जालमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) को नाम पनि जोडिएको छ । कान्तिपुरमा प्रकाशित अनुसन्धानमूलक समाचारअनुसार कुमार ब्यञ्जनकारले सापकोटाले आफूहरू एउटै विद्यालयमा पढेको भन्दै निकटता बढाउन खोजेको र प्रधानमन्त्री तथा सचिवालयको नाम प्रयोग गरेर विभिन्न काम तथा कारोबार अघि बढाउने गरेको आफूहरूले थाहा पाएको बताउनुभएको थियो । यसले अर्को गम्भीर प्रश्न उठाउँछ ।
औपचारिक सरकारी जिम्मेवारीमा नरहेका एक व्यक्तिले प्रधानमन्त्रीको सचिवालयसम्म आफ्नो पहुँच रहेको देखाउने अवस्था कसरी बन्यो ? प्रधानमन्त्रीको नाम प्रयोग गरेर कुनै व्यक्ति वा संस्थासँग आर्थिक तथा व्यावसायिक सम्बन्ध स्थापित गर्ने प्रयास भएको थियो भने त्यसको वास्तविकता के हो ?
कुमार वेनको भनाइलाई आधार मान्दा उहाँले सापकोटाले प्रधानमन्त्रीको नाम प्रयोग गरेको विषयबारे जानकारी पाएको बताउनुभएको छ । तर सापकोटाले वास्तवमै कसको नाम प्रयोग गरेर कुन काम गराउन खोजेका थिए भन्ने कुरा अनुसन्धानबाट पुष्टि हुन बाँकी छ । स्वयं वेनले पनि केही बताउनुभएको छैन । प्रधानमन्त्रीको सचिवालयको नाम जोडिएको विषय भएकाले यसबारे स्पष्ट संस्थागत जवाफ आउनु आवश्यक छ ।
पूर्वप्रधानन्यायाधीश जबराको मोबाइलबाट खुलेको सम्पर्क सञ्जाल
इनम सापकोटा प्रकरणको अर्को महत्वपूर्ण पाटो पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको छ । कान्तिपुरमा प्रकाशित विवरणअनुसार पूर्वप्रधानन्यायाधीश जबराको मोबाइल परीक्षणका क्रममा सापकोटासँग सम्बन्धित सम्पर्क सञ्जालबारे अनुसन्धान अघि बढेको थियो ।
प्रहरीसँगको सोधपुछमा सापकोटाले विभिन्न बैंकमा रहेको करोडौं रुपैयाँ पूर्वप्रधानन्यायाधीश जबराको भएको र उहाँका भाइ प्रभुशमशेर जबरामार्फत रकम प्रयोग भएको दाबी गरेको तथ्य यसअघि नै बाहिर आइसकेको छ ।
सापकोटाले आफूलाई जबराको परिवारसँगको चिनजानबाट कांग्रेसका नेताहरूसम्म पुग्ने अवसर मिलेको दाबी पनि गर्नुभएको छ । त्यस्तै, पूर्वमन्त्री दीपक खड्कामार्फत व्यापारी दीपक भट्टसँग भेट भएको तथा बालकृष्ण खाण र शेरबहादुर देउवासँग समेत चिनजान भएको सापकोटाको भनाइ सार्वजनिक भएको छ ।
शिक्षकको तलब ४० हजार, बैंक खातामा ६ करोड ३१ लाख
सापकोटाको आर्थिक गतिविधिमा चासो बढ्नुको अर्को कारण उहाँको विगतको पेशागत पृष्ठभूमि हो । कान्तिपुर दैनिकको समाचारअनुसार सापकोटा दुई वर्षअघिसम्म काठमाडौंको बाँसबारीस्थित मिल्सबेरी स्कुलमा प्रि-स्कुल तहका सहायक शिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको मासिक तलब ४० हजार रुपैयाँ रहेको थियो । तर त्यसपछिको एक वर्षमा उहाँको एउटा बैंक खातामा मात्रै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको बैंकिङ विवरण सार्वजनिक भएको छ ।
सापकोटाले स्वास्थ्य उपकरण तथा स्किन केयरसम्बन्धी सामग्री आयात गर्ने प्रयोजनका लागि प्रिसाइज हेल्थकेयर टेक्नोलोजी प्रालि खोलेको प्रहरीसँगको सोधपुछमा बयान दिनुभएको छ । त्यसैगरी इन्जिक बिल्डर्स प्रालि र हिमालयन फ्लोरा इन्टरप्राइजेज प्रालिका खातामा पनि उहाँको खाताबाट रकम गएको देखिएको छ । यो तथ्यले व्यवसायको वास्तविक प्रकृति, लगानीको स्रोत, कम्पनीको स्वामित्व, कारोबारको उद्देश्य र करसम्बन्धी विवरण परीक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
सामान्य पेसागत पृष्ठभूमिबाट छोटो अवधिमा ठूलो आर्थिक कारोबारमा पुग्नु आफैंमा अपराध होइन। तर कारोबारको स्रोत र प्रयोजन स्पष्ट नभएमा त्यसले स्वाभाविक रूपमा सार्वजनिक चासो र नियामकीय अनुसन्धानको माग गर्छ । अहिले प्रहरी यही तथ्य खोतल्ने प्रयाशमा रहेको देखिन्छ ।
अनुसन्धानले खोज्नुपर्ने तथ्य
इनम सापकोटा प्रकरण अब एउटा व्यक्तिको बैंक खातामा रकम जम्मा भएको विषयमा मात्र सीमित रहनु हुँदैन । सार्वजनिक भएका विवरणका आधारमा अनुसन्धानले कम्तीमा निम्न प्रश्नको जवाफ खोज्नुपर्ने देखिन्छ ।
१. महेश श्रेष्ठबाट सापकोटाको खातामा सात पटक गरी जम्मा भएको १ करोड ४२ लाख ५० हजार रुपैयाँको वास्तविक स्रोत र प्रयोजन के हो ?
२. उमेश श्रेष्ठ अध्यक्ष रहेको जनमैत्री फाउन्डेसनबाट गएको २० लाख रुपैयाँ कुन प्रयोजनका लागि दिइएको थियो ? त्यसको निर्णय र लेखा अभिलेख के छ ?
३. श्रीवृद्धि इन्भेस्टमेन्टबाट आएको एक करोड रुपैयाँ र विभिन्न कम्पनीमा स्थानान्तरण भएको रकमको वास्तविक आर्थिक आधार के हो ?
४. प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार, पूर्वप्रधानन्यायाधीश जबरा र कांग्रेसका नेताहरूसँग जोडिएको भनिएको सम्पर्क सञ्जालको वास्तविक स्वरूप के हो ?
५. कांग्रेसको आधिकारिकता विवादसँग जोडेर सार्वजनिक भएका आर्थिक लेनदेनका आरोप र सापकोटाको बैंकिङ कारोबारबीच कुनै सम्बन्ध छ कि छैन ?
यी प्रश्नको जवाफ अनुमान वा राजनीतिक आरोप–प्रत्यारोपबाट होइन, बैंकिङ अभिलेख, डिजिटल संवाद, कम्पनीका लेखा विवरण, कर अभिलेख र सम्बन्धित व्यक्तिहरूको आधिकारिक बयानबाट खोजिनुपर्छ ।
व्यक्तिको पहुँचभन्दा ठूलो प्रश्न आर्थिक पारदर्शिताको
इनम सापकोटाको बैंक खातामा एक वर्षमै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको विवरण, महेश श्रेष्ठबाट आएको १ करोड ४२ लाख ५० हजार रुपैयाँ, उमेश श्रेष्ठ अध्यक्ष रहेको फाउन्डेसनबाट गएको २० लाख र विभिन्न कम्पनीमा भएको रकम स्थानान्तरणले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेका छन् । त्यसमाथि प्रधानमन्त्रीको सचिवालय, पूर्वप्रधानन्यायाधीश, कांग्रेसको नेतृत्व र व्यावसायिक क्षेत्रसँग जोडिएका सम्पर्कका विवरणले प्रकरणलाई थप संवेदनशील बनाएका छन् ।
कुनै व्यक्तिसँग राजनीतिक नेताको सम्पर्क हुनु, कुनै संस्थाबाट रकम प्राप्त हुनु वा कसैको नाम बयानमा आउनु मात्रले आपराधिक संलग्नता प्रमाणित गर्दैन । तर ठूलो आर्थिक कारोबारको स्रोत र प्रयोजन स्पष्ट पार्ने दायित्व सम्बन्धित पक्षको पनि हुन्छ । यदि यी कारोबार सामान्य व्यावसायिक प्रयोजनका हुन् भने त्यसको प्रमाण र लेखा विवरण सार्वजनिक छानबिनमा स्पष्ट हुनुपर्छ । यदि कुनै पद, पहुँच वा राजनीतिक सम्बन्धको दुरुपयोग गरेर अनुचित आर्थिक लाभ लिइएको हो भने त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ ।
अन्ततः प्रश्न इनम सापकोटा कसको नजिक हुनुहुन्थ्यो भन्ने होइन । प्रश्न हो– उहाँको खातामा आएको करोडौं रुपैयाँ कसको थियो, कहाँबाट आयो, कहाँ पुग्यो र त्यसको वास्तविक प्रयोजन के थियो ? भन्ने हो । यी प्रश्नको जवाफ नआएसम्म यो प्रकरणसँग जोडिएका राजनीतिक र व्यावसायिक सम्बन्धमाथिको सार्वजनिक चासो समाप्त हुने देखिँदैन ।













प्रतिक्रिया दिनुहोस्