जनता टाइम्स

५ मंसिर २०८३, शनिबार २०:०६

आरजु र मलाई मारिसकेका हुन्, हामीलाई जेनजीले बचाए : शेरबहादुर देउवा


काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी कब्जा गर्ने उद्देश्यका साथ महामन्त्री गगन थापाले विशेष महाधिवेशन आयोजना गरेको बताउनुभएकाे छ । 

शनिबार कांग्रेसको देउवा पक्षीय गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशन पार्टी कब्जा गर्ने षड्यन्त्रको हिस्सा भएको दाबी गर्नुभयो । आफू न्यायका लागि अदालत गएको उल्लेख गर्दै उहाँले पार्टीभित्र भइरहेको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

पूर्वसभापति देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी डा. आरजु राणा देउवामाथि ज्यानै जाने गरी आक्रमण भएको स्मरण गर्नुभयो । उहाँले सेनाको सहयोगमा उद्धार भएर उपचार पाएपछि आफूहरू बाँच्न सफल भएको बताउनुभयो ।

‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौँ । यहाँ अहिलेसम्म घाउ छ,’ उहाँले भन्नुभयो, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएनन् । घर जाने बाटोमा सारा मान्छे बसेका थिए । पछि सेनाले गाडी पठाएर सेनाकै क्याम्पमा लग्यो । त्यहीँ उपचार भएर हामी बाँचेका हौँ ।’

देउवाले जेनजी आन्दोलनका क्रममा आफूलाई जेनजी युवाहरूले नै बचाएको पनि बताउनुभयो । तर, जेनजी आन्दोलनको नाममा ५० वर्षमाथिका व्यक्तिहरूले आफूहरूमाथि ढुंगामुढा र आक्रमण गरेको उहाँको दाबी थियो । ‘मलाई जेनजीहरूले बचाएको हो । फोटो र भिडियोमा बचाउनेहरू देखिन्छन् । जेनजीको नाममा ५० वर्षमाथिकाहरूले ढुंगामुढा हाने,’ उहाँले भन्नुभयो ।

उहाँले आफू र पत्नीमाथि भएको आक्रमणलाई सामान्य घटनाका रूपमा लिन नहुने उल्लेख गर्दै त्यसमा ठूलो षड्यन्त्र रहेको जिकिर गर्नुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीका रूपमा रहेकी पत्नी आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री रमेश लेखकको प्रसंग उठाउँदै उहाँले भट्टराई निवासमाथि आक्रमण हुनुको कारणसमेत प्रश्न गर्नुभयो ।

देउवाले बीपी कोइरालाका बुबाले निर्माण गरेको घरदेखि गणेशमान सिंहको घरसम्म आक्रमण भएको स्मरण गराउँदै देशभरका कांग्रेस पार्टी कार्यालयहरूमा समेत तोडफोड र आक्रमण भएको बताउनुभयो । उहाँले यी घटनालाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।

आफूमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई समेत निर्वाचनमा टिकट दिइएको उहाँको आरोप थियो । पार्टीभित्रको नेतृत्व र निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै उहाँले आफूलाई झन्डै ज्यान जाने अवस्थामा पुर्‍याउने व्यक्तिहरूलाई नै राजनीतिक अवसर दिइएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

विशेष महाधिवेशन पार्टीको विधि र प्रक्रियाअनुसार नभई नेतृत्व कब्जा गर्ने उद्देश्यले गरिएको देउवाको आरोप छ । त्यसैले आफू पार्टीभित्रको विवादको न्यायिक निरूपणका लागि अदालत पुगेको उहाँले स्पष्ट पार्नुभयो ।