काठमाडौं, मंसिर ५ । सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३ ओभर ३ बलमै पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले विस्फोटक शतकीय पारी खेले । उनले ५४ बलमा १२५ रन बनाए । त्यसक्रममा ८ चौका र १२ छक्का प्रहार गरे । विनोद भण्डारीले २७ बलमा ३० रन बनाए ।
यसअघि टस जितेर पहिले बलिङ गरेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।
लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली शेखले २४ र डार्सी सर्टले २१ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगलाइनले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र हेमन्त धामीले समान एक–एक विकेट लिए ।
यस जितसँगै सुदूरपश्चिमले एनपीएलको तेस्रो संस्करणको उपाधि आफ्नो नाममा गरेको छ ।













प्रतिक्रिया दिनुहोस्