जनता टाइम्स

५ मंसिर २०८३, शनिबार २०:३१

बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, घाम लागेपछि कुहिएर सकिन्छ : महेश बस्नेत


काठमाडौं, मङ्सिर ५ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार एक वर्ष पनि टिक्न नसक्ने दाबी गर्नुभएको छ । उहाँले बालेन नेतृत्वको सरकारलाई बर्खामा उम्रिएको चुच्चे च्याउको संज्ञा दिँदै घाम लागेपछि आफैँ समाप्त हुने टिप्पणी गर्नुभएको हो ।

एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारप्रति तीव्र आलोचना गर्नुभयो ।

उहाँले सरकारले सुकुम्बासीलाई दिएका आश्वासन पूरा नगरेको आरोप लगाउनुभयो । सुकुम्बासीका घर भत्काएर वर्षायाममा सडकमा बस्न बाध्य पारिएको भन्दै उहाँले सरकारप्रति जनआक्रोश बढिरहेको दाबी गर्नुभयो ।

बंगलादेशमा भइरहेको आन्दोलनको प्रसंग उल्लेख गर्दै बस्नेतले सुकुम्बासी, गरिब तथा युवाका माग सम्बोधन नगरे नेपालमा पनि त्यस्तै परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिनुभयो । सरकारले भोटेकोशी बाढीपीडितलाई समेत प्रभावकारी राहत उपलब्ध गराउन नसकेको उहाँको आरोप थियो ।

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब रुपैयाँ जम्मा भए पनि बाढीपीडितले खान नपाएर भोकै बस्नुपरेको उहाँले दाबी गर्नुभयो ।

बस्नेतले वैदेशिक शक्तिहरूले एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाएर ओलीविनाको नेपाल तथा एमाले निर्माण गर्न खोजेको आरोपसमेत लगाउनुभयो । एमालेमा ओलीको विकल्प खोज्ने प्रयासलाई कार्यकर्ताले अस्वीकार गरिसकेको उहाँको दाबी थियो ।

उहाँले केपी ओली र एमालेको सम्बन्धलाई युवा शक्तिसँग जोड्दै ओलीविनाको एमाले र युवाविनाको ओली दुवै अपूरो हुने बताउनुभयो । ओलीको विकल्प खोज्नेहरूलाई कार्यकर्ता र नेताहरूले नै जवाफ दिने उहाँको भनाइ थियो ।

यसैबीच, बस्नेतले केपी शर्मा ओलीले देश विकास र राष्ट्रियताको पक्षमा भूमिका खेलेको दाबी गर्दै उहाँविरुद्ध प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो ।