जनता टाइम्स

५ मंसिर २०८३, शनिबार २०:३८

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो : ओली


काठमाडौं, मङ्सिर ५ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ । उहाँले वर्तमान सरकार गठनको प्रक्रियासमेत असंवैधानिक र अलोकतान्त्रिक रहेको दाबी गर्नुभयो ।

एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार आतंक, आगजनी र तोडफोडको जगमा गठन भएको आरोप लगाउनुभयो ।

राष्ट्रपति पौडेलले डराएर प्रतिनिधिसभा विघटन गरेको टिप्पणी गर्दै उहाँले संसद् विघटन गरेर लोकतन्त्र जोगिएको भन्नु विरोधाभासपूर्ण रहेको बताउनुभयो ।

‘डरपोक राष्ट्रपतिले, सम्माननीय हुनुहुन्छ भन्न त भएन । सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो र बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो,’ ओलीले भन्नुभयो ।

प्रधानन्यायाधीश भइसकेको व्यक्ति संविधान मिचेर प्रधानमन्त्री बनेको र उहाँकै एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको ओलीको आरोप थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको उहाँले बताउनुभयो ।

देश संवैधानिक र लोकतान्त्रिक विधिअनुसार सञ्चालन हुन नसकेको टिप्पणी गर्दै ओलीले लोकतान्त्रिक संस्थाहरू कमजोर पारिएको, विघटन गरिएको र समाप्त पारिँदासमेत राज्यका कुनै निकायले प्रतिवाद नगरेको आरोप लगाउनुभयो ।

उहाँले वर्तमान राजनीतिक परिस्थितिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक संस्थाहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो ।