जनता टाइम्स

५ मंसिर २०८३, शनिबार २१:१७

खेलकुद क्षेत्रको विकास र युवालाई खेलमा आकर्षित गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री किरण थापा मगर


हेटौँडा, मंसिर ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा खेलकुद क्षेत्रको विकास तथा युवालाई खेलकुदमा आकर्षित गर्न प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–फाखेलमा शनिबार आयोजित दशैँ कप फुटबल तथा महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले स्थानीय तहले जग्गा उपलब्ध गराएको स्थानमा प्रदेश सरकारले खेल मैदान, स्टेडियम तथा इनडोर खेलकुदका संरचना निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताउनुभयो । उहाँले खेलकुद पूर्वाधार विकासका लागि विनियोजित बजेट अझै पर्याप्त हुन नसकेको भने स्वीकार गर्नुभयो । “स्थानीय तहले जग्गा उपलब्ध गराएको ठाउँमा प्रदेश सरकारले खेल मैदान, स्टेडियम र इनडोर गेमका संरचना बनाउन हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ तर, अझै यो पर्याप्त मात्रामा छैन भन्ने कुरा हामीले पनि महसुस गरेका छौँ,” उहाँले भन्नुभयो ।

खेलकुदको माध्यमबाट युवालाई सक्रिय, अनुशासित र सृजनशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले प्रदेश सरकारले युवालाई खेलकुदमा जोड्ने उद्देश्यसहित नयाँ कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । “अब युवालाई कसरी गतिशील बनाउने, खेलकुदमा कसरी प्रेरित गर्ने र कसरी समेट्ने भन्ने कुरालाई मध्यनजर गरेर बागमती प्रदेश सरकारले युवा लक्षित कार्यक्रम अघि बढाएको छ, यस वर्ष केही कार्यक्रमका लागि बजेटसमेत विनियोजन गरेका छौँ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।

प्रदेश गठन भएयता बागमती प्रदेशका १३ वटै जिल्लामा विभिन्न भौतिक पूर्वाधार निर्माणका काम अघि बढे पनि खेलकुद क्षेत्रले अपेक्षित प्राथमिकता पाउन नसकेको उहाँको भनाइ थियो । अन्य क्षेत्रको तुलनामा खेलकुद पूर्वाधार निर्माणमा कम लगानी हुँदा यस क्षेत्रको विकास केही पछाडि परेको उहाँले स्वीकार गर्नुभयो । “प्रदेश गठन भएपछि बागमती प्रदेशका १३ वटा जिल्लामा धेरै भौतिक पूर्वाधार निर्माणको काम भएको छ । खेलकुदमा अलिकति कम भएको कारणले खेल क्षेत्र अलि पछाडि परेको छ, यो कुरा प्रदेश सरकारले महसुस गरेको छ,” उहाँले स्पष्ट पार्नुभयो ।

आगामी दिनमा खेलकुद क्षेत्रको विकासलाई बजेट निर्माणको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री थापा मगरले युवालाई अनुशासित बनाउन, उनीहरूको प्रतिभा पहिचान गर्न तथा खेलकुदको समग्र विकासका लागि प्रदेश सरकारले आवश्यक योजना र कार्यक्रम अघि बढाउने बताउनुभयो । “आगामी दिनमा युवालाई अनुशासित बनाउन र खेलकुदको विकास गर्न खेलकुदलाई समेटेर बजेट बनाउने प्रतिबद्धता व्यक्त गर्दछु,” उहाँले भन्नुभयो ।

उहाँले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी युवाको व्यक्तित्व विकास, अनुशासन र सामाजिक एकतासँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो ।