जनता टाइम्स

६ मंसिर २०८३, आइतबार १९:५४

नयाँ भनिएको सरकार आएपछि सबैभन्दा बढी पीडा जनतालाई भयो : एमाले महासचिव पोखरेल


काठमाडौं, मङ्सिर ६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ भनिएको सरकार गठन भएपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको टिप्पणी गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो । दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ निकै बढेको दाबी गर्दै उहाँले सरकार जनताको सुख र सहजताप्रति जिम्मेवार हुन नसकेको बताउनुभयो ।

जनताले आर्थिक कठिनाइ भोगिरहेका बेला शासकहरूले सामाजिक सञ्जालमार्फत परिवर्तन र चमत्कारको आश्वासन मात्रै बाँडिरहेको उहाँको आरोप थियो ।

महासचिव पोखरेलले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसको सोचाइ, सिर्जनशीलता, सामाजिक व्यवहार र परम्परागत मूल्य–मान्यतामा नकारात्मक असर पारिरहेको पनि बताउनुभयो ।

सामाजिक सञ्जालका अल्गोरिदमले प्रयोगकर्ताको रुचिअनुसार एउटै प्रकृतिका सामग्री निरन्तर देखाउने हुँदा मानिसको सोचाइ प्रभावित भइरहेको उहाँको भनाइ थियो । यसले नेपाली समाजको संस्कृति, परम्परा र सभ्यतामाथि चुनौती थपेको उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले सामाजिक सञ्जालमा लाइक र भ्युज पाउने लोभमा नेपाली समाज आफ्नै संस्कृति र मर्यादाबाट टाढिँदै गएको टिप्पणीसमेत गर्नुभयो ।

मुलुकको संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षणका लागि सबैले भूमिका खेल्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सञ्जालको दुरुपयोगबाट समाजलाई जोगाउनुपर्ने बताउनुभयो ।