काठमाडौं, मंसिर ६ । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ । आज सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको हो ।
यूएईले दिएको ११२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । उनले ५७ रनको योगदान दिए । त्यस्तै, मयन यादवले २७ र बसिर अहमदले १८ रन बनाए ।
बलिङतर्फ यूएईका मुहम्मद मोहसिनले दुई विकेट लिए भने उद्दिश सुरी र अंश टण्डनले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपाली बलरको धारिलो आक्रमणसामु टिक्न सकेन । नेपालले यूएईलाई ३९.५ ओभरमा १२१ रनमै समेटेको थियो । यूएईका लागि मुहम्मद सेहदादले सर्वाधिक ४० रन र हरप्रीत सिंहले ३२ रन बनाए । उनीहरूबीच तेस्रो विकेटका लागि ६३ रनको साझेदारी भएको थियो ।
नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै समान तीन–तीन विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिएका थिए । त्यस्तै, रसिद खानले एक विकेट लिए भने अंश टण्डन रनआउट भएका थिए ।
खेलमा कप्तान सन्दीपले पाँच जना स्पिनर प्रयोग गर्दै यूएईको ब्याटिङमाथि दबाब सिर्जना गरेका थिए । नेपाली स्पिनरको प्रभावकारी प्रदर्शनका कारण यूएईका आठ जना ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले भारत ‘ए’सँग निराशाजनक हार बेहोरेको थियो । यूएईविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा पुनरागमन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्