काठमाडौं, मंसिर ७ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक वर्षका बालकसहित नौ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार बिहान ७ः१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोस्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गा पठाएको छ। घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ निवासी ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, सात वर्षीय आयुश मंग्राती, सात वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका छ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन्।
मेला तथा धार्मिक दर्शनका लागि जाँदै गरेका यात्रु सवार जिप दुर्घटनामा परेको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्