काठमाडौं, मंसिर ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अशिका तामाङले भारतसँग भएको विकास सहायता सम्बन्धी सहमतिमा उल्लेखित ५६ अर्ब रुपैयाँ अनुदान स्वीकार गरेर १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा भने अस्वीकार गर्नुपर्ने बताउनुभएको छ।
नेपाल र भारतबीच आज भएको सहमतिअनुसार भारतले नेपाललाई कुल भारु १५ हजार करोड (नेपाली रुपैयाँ २ खर्ब ४० अर्ब) बराबरको विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सहमतिमा नेपालमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि भारु ३ हजार ५०० करोड (नेपाली रुपैयाँ ५६ अर्ब) अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाका लागि भारु ११ हजार ५०० करोड (नेपाली रुपैयाँ १ खर्ब ८४ अर्ब) बराबरको भारतीय मुद्रामा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) समावेश गरिएको छ।
यही सहमतिलाई लिएर सांसद तामाङले अनुदान र ऋणलाई एउटै रूपमा हेर्न नहुने धारणा सार्वजनिक गर्नुभएको हो।
उहाँले भन्नुभएको छ, “नेपालले भारतबाट लिने ५६ अर्ब रुपैयाँ अनुदान सहयोग चाहिँ लिउँ, फ्रीमा हो भने, र १.८४ खर्ब रुपैयाँ ऋण चाहिँ नलिउँ भन्न नि पाइला नि त ! सहयोग भन्ने कुरा लिन पाइयो तर ऋण चाहिँ चाहिँदैन भन्न नि पाइयो।”
उहाँले थप भन्नुभएकाे छ, ‘ऋण त कुनै हालतमा लिन हुँदैन भन्ने मेरो पक्ष हो ! पहिले नै ऋण माथी ऋण छ ।’
सांसद तामाङको यस अभिव्यक्तिले भारतसँग भएको विकास सहायता सम्बन्धी सहमतिमा समावेश ऋण सुविधाको आवश्यकता, औचित्य र त्यसबाट भविष्यमा पर्न सक्ने आर्थिक दायित्वबारे बहसलाई थप चर्चामा ल्याएको छ।
भारतले उपलब्ध गराउने अनुदान सहायता र ऋण सुविधाका विशिष्ट परियोजना तथा विकास सहायता प्रदान गर्ने कार्यविधि भने दुवै देशबीचको आपसी परामर्शबाट अन्तिम रूप दिइने सहमतिमा उल्लेख छ।













प्रतिक्रिया दिनुहोस्