काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विगतमा राजनीतिक प्रतिशोधको सामना गर्दा पनि न्यायालयबाट न्याय पाएको स्मरण गर्दै अहिले पनि आफूहरूमाथि न्याय हुने विश्वास व्यक्त गर्नुभएको छ ।
देउवाले जेनजी आन्दोलनका नाममा समाज कब्जा गर्ने प्रयास भएको टिप्पणी गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ ।
देउवा पक्षीय नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले पार्टीको विधानअनुसार नियमित महाधिवेशन भइरहेको उल्लेख गर्नुभयो । साथै, विशेष अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेसको विधान राम्ररी अध्ययन गरे विशेष अधिवेशन विधानसम्मत नभएको स्पष्ट हुने दाबी गर्नुभयो ।
राजतन्त्रकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूविरुद्ध शाही आयोग गठन गरी जेल पठाएको प्रसंग स्मरण गर्दै देउवाले त्यसबेला पनि न्यायालयबाट न्याय पाएको बताउनुभयो । अहिले गणतन्त्रमा न्यायालय रहेकाले आफूहरूमाथि पनि न्याय हुने उहाँको विश्वास थियो । ‘ज्ञानेन्द्रले बनाएको शाही आयोगले जेल पठाउँदा पनि अदालतले न्याय दियो । अहिले पनि अपेक्षा छ,’ उहाँले भन्नुभयो ।
देउवाले जेनजी आन्दोलनका क्रममा समाजमा कब्जा जमाउने प्रयास भएको टिप्पणी गर्दै लोकतान्त्रिक व्यवस्था र राज्यका संस्थाहरू कमजोर हुन नदिन सबै सचेत हुनुपर्ने बताउनुभयो ।
कांग्रेसले देश र जनतामाथि संकट आइपर्दा सधैँ जनताको पक्षमा उभिँदै आएको उल्लेख गर्दै उहाँले विभिन्न आन्तरिक तथा बाह्य चलखेलका बीच पनि पार्टी आफ्नो मूल राजनीतिक धारबाट विचलित नभएको दाबी गर्नुभयो ।
आफूले राजनीतिक जीवनमा प्राप्त गर्नुपर्ने सबै उपलब्धि हासिल गरिसकेको उल्लेख गर्दै देउवाले बाँकी जीवन देशको सेवामा समर्पित गर्ने बताउनुभयो । पाँचपटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै अब व्यक्तिगत पद र प्रतिष्ठाभन्दा लोकतन्त्रको सुदृढीकरण आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ थियो । ‘मैले पाउने सबै पाइसकेँ । पाँचपटक प्रधानमन्त्री भइसकेँ । त्योभन्दा पाउने के हो ? अब मैले देशलाई दिने हो,’ उहाँले भन्नुभयो, ‘मेरो जीवनपर्यन्त, बाँचुन्जेल देशको सेवा गर्ने हो । लोकतन्त्रको विकासका लागि लाग्ने हो । देशमा कसैले खोस्न नसक्ने लोकतन्त्रका लागि काम गर्ने हो ।’
लोकतन्त्रका आधारभूत सिद्धान्त, मूल्य र मान्यतालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै उहाँले लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउन राजनीतिक दल र नागरिक सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा आफूहरूमाथि आक्रमण भएको प्रसंग उल्लेख गर्दै देउवाले सुरक्षा निकायको सहयोगका कारण ज्यान जोगिएको बताउनुभयो । ‘मलाई बचाएको कुरा सत्य हो । झन्डै मारिसकेका थिए । सुरक्षा निकाय नभएको भए हामी बाँच्ने पनि थिएनौँ,’ उहाँले भन्नुभयो ।
अधिवेशन उद्घाटन समारोहमा कांग्रेस नेता प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो । नेताहरूले जिल्लाको राजनीतिक अवस्था, संगठनात्मक गतिविधि तथा पार्टीको आगामी रणनीतिबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागी अधिवेशनमा उपस्थित रहेको निर्वाचन समितिका संयोजक अनिता शर्माले जानकारी दिनुभयो ।
प्रदेश सभापति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । सभापति पदमा प्युठानका सरोज थापा (रोज राणा), पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसाल प्रतिस्पर्धामा उत्रिनुभएको छ । यसअघि प्रदेशको संयोजकको जिम्मेवारी गेहेन्द्र गिरिले सम्हाल्दै आउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्