जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार ०८:५२

ईपीजी प्रतिवेदनबारे भारतको बेवास्ता : ‘विगततर्फ फर्किँदैनौँ, भविष्यका लागि नयाँ समझदारी भइसक्यो’


काठमाडौं, मंसिर ८ । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनलाई विगतको विषय भन्दै भारत त्यसतर्फ फर्किन नचाहेको स्पष्ट पार्नुभएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तापछि भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भविष्यका लागि दुवै देशबीच नयाँ समझदारी भइसकेको बताउनुभयो ।

“ईपीजी विगतको कुरा हो । भारत विगततर्फ फर्किँदैन । भविष्यका लागि नयाँ समझदारी भइसकेको छ । सीमाका विषयमा छलफल गर्न दुवै देशका विदेश सचिवलाई स्पष्ट निर्देशन दिइएको छ,” उहाँले भन्नुभयो ।

उहाँले नेपाल र भारत सरकारले रचनात्मक तथा विस्तृत संयुक्त दृष्टि दस्ताबेज अघि सारेको उल्लेख गर्दै अब दुवै देश भविष्यका लागि काम गर्ने बताउनुभयो ।

नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरू सम्मिलित संयुक्त संयन्त्रले सन् २०१८ (२०७५) मा सीमा विवाद र सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनलगायत विषय समेटेर प्रतिवेदन तयार पारेको थियो । तर, भारत सरकारले हालसम्म उक्त प्रतिवेदन औपचारिक रूपमा बुझेको छैन ।

भारतीय सञ्चारकर्मीले ईपीजी प्रतिवेदनबारे जिज्ञासा राखेपछि विदेश सचिव मिस्रीले त्यसको सान्दर्भिकता नरहेको संकेत गर्दै भारत विगततर्फ नफर्किने धारणा राख्नुभएको हो ।

यता, परराष्ट्रमन्त्री शिशिर खनालले भने प्रधानमन्त्रीको भारत भ्रमणपछि सार्वजनिक संयुक्त दृष्टि दस्ताबेजमा ईपीजीका केही विषय समेटिएको बताउनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भारत सन् १९५० को असमान सन्धि पुनरावलोकनका लागि तयार भएको दाबी गर्नुभयो ।

मन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई सम्भावनायुक्त र सकारात्मक लयमा फर्काएको पनि बताउनुभयो ।