काठमाडौँ, मङ्सिर १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण राष्ट्रहितका एजेन्डामा केन्द्रित हुन नसकेको आरोप लगाउनुभएको छ। उहाँले प्रधानमन्त्रीको भ्रमण निजी यात्राजस्तो भएको टिप्पणी गर्दै त्यसबाट कुनै ठोस उपलब्धि हासिल नभएको दाबी गर्नुभएको छ।
बिहीबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा ओलीले प्रधानमन्त्री शाहले भारत जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दल तथा अन्य सरोकारवालासँग संवाद नगर्नुभएको बताउनुभयो। २५ घण्टाका लागि मात्रै भारत गएर फर्किएकाले राष्ट्रहितका विषयमा गहिरो छलफल गर्ने अवसर गुमेको उहाँको भनाइ थियो।
‘प्रधानमन्त्री जाँदा उहाँसँग सिंगै राष्ट्र जानुपर्ने हो, तर त्यो उहाँको निजी भ्रमणजस्तो हुन पुग्यो,’ ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन। जे-जति भए, ती विगतमै भइसकेका विषयका निरन्तरता मात्रै हुन्।’
ओलीले प्रधानमन्त्री शाहले विगतमा स्टन्टका लागि महानगरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको तर भारत भ्रमणका क्रममा सीमा विवादबारे कुनै शब्द नबोलेको आरोप लगाउनुभयो। भारतबाट आर्थिक तथा विकास सहायता आउने विषयमा पनि तत्काल उत्साहित हुनुपर्ने अवस्था नरहेको उहाँको टिप्पणी थियो। विगतमा जनकपुर र भूकम्पपछिको पुनर्निर्माणका लागि घोषणा गरिएका सहायता प्राप्त नभएको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो।
पूर्वप्रधानमन्त्री ओलीले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषयमा सरकारले अडान छाडेको भन्दै आलोचना गर्नुभयो। नेपाल र भारतबीच सीमा लगायतका विषयमा समझदारीका साथ अघि बढ्न गठन गरिएको ईपीजीलाई बीचमै असान्दर्भिक घोषणा गर्न खोजिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो।
ओलीले आफू गत वर्ष भदौमा संवैधानिक प्रक्रियाबाट नभई हुल्लडबाजहरूबाट पदमुक्त भएको दाबीसमेत गर्नुभयो। उहाँले अमेरिकी रक्षा तथा सुरक्षा रणनीतिसम्बन्धी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मस्यौदा तयार पारेर हस्ताक्षर गर्ने तयारी भइरहेका बेला आफूले त्यसलाई असफल बनाएको दाबी गर्नुभयो। तर मस्यौदा कसरी तयार भयो र आफूले कसरी रोक्नुभयो भन्नेबारे उहाँले विस्तृत खुलाउनुभएन।
सम्पादकहरूसँगको अनौपचारिक छलफलमा ओलीले आफ्ना अभिव्यक्तिहरू गोप्य नरहने र त्यसकै कारण आफूलाई नकारात्मक रूपमा चित्रण गरिने गरेको बताउनुभयो। आफ्नो नेतृत्वको सान्दर्भिकतामाथि प्रश्न उठेपछि उहाँले आफूविरुद्ध आलोचना मात्रै नगरी गलत नीति भए त्यसलाई स्पष्ट रूपमा औँल्याउन चुनौती दिनुभयो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उमेरलाई उदाहरण दिँदै ओलीले उमेरकै आधारमा नेतृत्वमाथि प्रश्न उठाउन नहुने तर्क गर्नुभयो।
उहाँले वर्तमान सरकारले प्रेसमाथि कडा व्यवहार गर्दा पनि सञ्चार क्षेत्रबाट पर्याप्त प्रतिवाद हुन नसकेको आरोप लगाउनुभयो। पञ्चायतकाल र शाही शासनकालमा प्रेसले सशक्त प्रतिवाद गरेको स्मरण गराउँदै अहिले सञ्चारमाध्यममै प्रहरी प्रवेश गर्दा पनि सरकारको विरोध हुन नसकेको उहाँको भनाइ थियो। लोकतन्त्रको रक्षाका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुरक्षित हुनुपर्ने उहाँले बताउनुभयो।
न्यायालय र संवैधानिक निकायहरूको कामप्रति पनि ओलीले असन्तुष्टि जनाउनुभयो। न्यायसम्पादनमा सरकारी प्रभाव देखिएको संकेत गर्दै उहाँले अदालतको सम्मान पीडितले मात्रै नभई शासकले पनि गर्नुपर्ने बताउनुभयो। अनुचित काम भइरहे पनि त्यसको विरोध प्रभावकारी रूपमा हुन नसकेको उहाँको टिप्पणी थियो।
सम्पादकहरूसँगको छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी हुने जानकारी पार्टीको प्रचार विभागले दिएको भए पनि उहाँहरू उपस्थित हुनुभएन। कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवाली, सूर्य थापा, निरु पाल र निरज आचार्य सहभागी हुनुहुन्थ्यो।
ओलीले पार्टीभित्र केही अराजकता बढेको स्वीकार गर्दै पछिल्लो बैठकमार्फत त्यसलाई सही बाटोमा फर्काइएको दाबी गर्नुभयो। एमालेले ‘लोकतन्त्र फिर्ता’ का लागि आन्दोलन आवश्यक रहेको बताउँदै आएको छ। तर लोकतन्त्र अहिले नरहेको हो भन्ने प्रश्नको जवाफ भने पार्टीले स्पष्ट दिएको छैन।
ओलीले स्थानीय र प्रदेश निर्वाचन एकैसाथ गर्न नसकिने अडानसमेत दोहोर्याउनुभयो। संविधान र लोकतन्त्रको मर्मअनुसार दुवै निर्वाचन आ–आफ्नो निर्धारित समयमा हुनुपर्ने भन्दै कुनै दल वा सरकारलाई खुसी पार्न लोकतान्त्रिक मान्यतामाथि प्रहार गर्न नहुने उहाँको तर्क थियो।













प्रतिक्रिया दिनुहोस्