काठमाडौँ, मङ्सिर १० । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले मलेसिया वैदेशिक रोजगारी ठगी प्रकरणमा तत्कालीन श्रममन्त्री तथा हालका सभामुख डीपी अर्यालमाथि छानबिन नभएको भन्दै प्रश्न उठाउनुभएको छ।
रोल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले सरकारले आफूनिकटका व्यक्तिलाई उन्मुक्ति दिएर आफूहरूसँग फरक मत राख्ने व्यक्तिलाई मात्रै लक्षित गरी कारबाही अघि बढाएको आरोप लगाउनुभयो।
उहाँले उक्त प्रकरणको अवधिमा सात जना श्रममन्त्री बनेको उल्लेख गर्दै सुरुदेखि नै जिम्मेवारीमा रहेका मन्त्रीदेखि बीचमा जिम्मेवारी सम्हालेका मन्त्रीहरूसम्ममाथि समान रूपमा छानबिन हुनुपर्ने बताउनुभयो।
‘त्यो बीचमा सात जना मन्त्री भएको देखिन्छ। तर, जसलाई फसाउन खोजियो, त्यसको नाममात्रै छानेर कारबाही गरेको देखिन्छ। सुरु गर्ने मन्त्रीलाई पनि छानबिन गरिएको छैन, बीचका मन्त्रीहरूलाई पनि गरिएको छैन। आफ्नै पार्टीको तर्फबाट अहिले सभामुख हुनुभएका व्यक्ति त्यो बेला मन्त्री हुनुहुन्थ्यो,’ पुनले भन्नुभयो।
आफूसँग फरक मत राख्ने व्यक्तिलाई मात्रै छानेर कारबाही गर्न खोजिएको उहाँको आरोप छ। यस्तो प्रक्रिया सुशासन नभई निर्देशित छानबिन र राजनीतिक प्रतिशोधको प्रयास भएको पुनले टिप्पणी गर्नुभयो।
निजी क्षेत्रमा पनि पुरानो पार्टी वा नेतासँग निकटता रहेको भन्दै व्यक्तिहरूलाई त्रसित पार्ने काम भइरहेको उहाँले आरोप लगाउनुभयो।













प्रतिक्रिया दिनुहोस्