जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार १७:३६

संसद् अधिवेशन छिटो बोलाउन रास्वपाकै नेताहरूको सरकारमाथि दबाब


काठमाडौँ, मङ्सिर ११ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले संघीय संसद्को अधिवेशन छिटो बोलाउन सरकारमाथि दबाब बढाएका छन्।

संसद् अधिवेशन नबोलाइँदा जनसरोकारका विषयमा छलफल हुन नसकेको र संसद्मा विचाराधीन विधेयक अघि बढ्न नपाएको रास्वपाका पदाधिकारीहरूको भनाइ छ।

एक पदाधिकारीका अनुसार पार्टीभित्र धेरैभन्दा धेरै कानुन निर्माण गर्ने भनिए पनि संसद् अधिवेशन नहुँदा जनताका विषयसमेत उठ्न सकेका छैनन्। त्यसैले अब अधिवेशन बोलाउन ढिलाइ गर्न नहुनेमा पार्टी स्पष्ट रहेको उहाँले बताउनुभयो।

यस विषयमा पार्टी सभापति रवि लामिछानेलाई जानकारी गराइसकिएको र उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि छलफल गर्नुभएको ती पदाधिकारीले जानकारी दिनुभयो।

सरकारले आगामी सोमबार अर्थात् मङ्सिर १४ गतेसम्म अधिवेशन बोलाउने निर्णय गर्न सक्ने रास्वपाका नेताहरूको अपेक्षा छ। उक्त समयसम्म पनि सरकारले मिति तय नगरे पार्टीका नेता तथा सांसदहरूले थप दबाब सिर्जना गर्ने तयारी गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। अधिवेशन छिटो बोलाउन सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भूमिकाबारे पनि रास्वपाका नेता तथा सांसदहरूबीच अनौपचारिक छलफल भएको छ।

गत असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को बर्खे अधिवेशन अन्त्य गरिएको थियो।

संसद्मा ३६ विधेयक विचाराधीन

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी हाल ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन्। तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक छलफलका क्रममा छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच, अर्थ समितिमा चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन–तीनवटा विधेयक विचाराधीन छन्।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिमा दुई–दुईवटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाका विषयगत समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैन। प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी राष्ट्रिय सेवा दल विधेयकको सन्देश मात्रै रहेको छ।

यसबीचमा थप सातवटा विधेयक दर्ता भएका छन्। अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो। अधिवेशन अन्त्य भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा सञ्चालन) पहिलो संशोधन विधेयक, भवन दोस्रो संशोधन विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक दर्ता भएका छन्।

त्यस्तै, डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ मा संसदीय समितिले प्रतिवेदन पेस गरिसकेको छ।