जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार १७:३९

अफलाइन ‘पठाओ’ चालक यात्रुको सामान लिएर फरार भएको आरोपमा पक्राउ


काठमाडौँ, मङ्सिर ११ । अफलाइन पठाओ सेवामार्फत सामान गन्तव्यसम्म पुर्‍याइदिने बहानामा यात्रुको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौँको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई शुक्रबार पक्राउ गरिएको हो।

काठमाडौँको बसपार्क क्षेत्रमा अफलाइन पठाओ सेवा सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान गन्तव्यसम्म पुर्‍याइदिने भन्दै सामान लिएर फरार हुने गरेको गुनासो प्रहरीसमक्ष पुगेको थियो।

सोही गुनासोका आधारमा प्रहरी प्रभाग गोंगबु र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा पोखरेललाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पोखरेललाई बा.६३ प ८३४३ नम्बरको स्कुटरसहित पक्राउ गरिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।