काठमाडौँ, मङ्सिर ११ । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन पूर्वसहमतिअनुसार दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा कायमै रहेको जनाएको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदनका विषयमा नेपाल आफ्नो पूर्ववत् सहमतिअनुसार अघि बढ्ने स्पष्ट पार्नुभएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारतको राजकीय भ्रमणपछि भारतीय विदेश सचिवले ईपीजी प्रतिवेदन असान्दर्भिक भइसकेको टिप्पणी गर्नुभएको थियो। त्यसपछि यस विषयमा नेपाल सरकारको औपचारिक धारणा माग हुँदै आएको छ।
पत्रकारहरूको जिज्ञासामा प्रवक्ता क्षेत्रीले ईपीजीसम्बन्धी विषयमा परराष्ट्रमन्त्रीले भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमै नेपालको धारणा स्पष्ट पारिसक्नुभएको उल्लेख गर्नुभयो।
प्रतिवेदनको अवस्थाबारे जानकारी दिँदै उहाँले ईपीजीको नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण देखाउँदै प्रतिवेदन राखिएको साँचो २०८३ जेठ २१ गते नै परराष्ट्र सचिवलाई हस्तान्तरण गर्नुभएको स्मरण गराउनुभयो।
यसअघि दुवै पक्षबीच भएको सहमतिअनुसार प्रतिवेदन सुरुमा भारतका प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीसमक्ष पेस गर्ने कार्यतालिका रहेको उहाँले बताउनुभयो।
प्रवक्ता क्षेत्रीले भन्नुभयो, “ईपीजीको उक्त प्रतिवेदन दुवै प्रधानमन्त्रीज्यूहरूसमक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ।”
प्रतिवेदन बुझाउने समयसम्म ईपीजी गठन हुनुका मूलभूत उद्देश्यअनुसारका द्विपक्षीय विषयमा दुवै पक्षले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने नेपालको विश्वास रहेको उहाँले बताउनुभयो।
त्यस्तै, हालै सम्पन्न राजकीय भ्रमणका क्रममा जारी ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ ले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन दिशानिर्देश गरेको पनि उहाँले उल्लेख गर्नुभयो।
भारतीय पक्षको टिप्पणीप्रति नेपालले प्रतिवाद नगरेको र ईपीजी प्रतिवेदन अझै सान्दर्भिक छ वा छैन भन्ने पत्रकारहरूको प्रश्नमा प्रवक्ता क्षेत्रीले मन्त्रालय आफ्नो पूर्ववत् अडानमा स्पष्ट रहेको दोहोर्याउनुभयो।
उहाँले भ्रमणपछि नेपालको मुख्य ध्यान ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ को पूर्ण र प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताउँदै त्यस क्रममा देखिने समस्या तथा विषयलाई द्विपक्षीय छलफलबाट समाधान गर्दै अघि बढिने स्पष्ट पार्नुभयो।













प्रतिक्रिया दिनुहोस्