जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार १७:४१

जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा सात जना नियन्त्रणमा


काठमाडौँ, मङ्सिर ११ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको जनगुनासोपछि प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बुधबार दिउँसो करिब २ः३० बजे जिल्ला प्रशासन कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ घर भई सोही स्थान बस्ने ५० वर्षीय गोपालबहादुर बिष्ट र स्याङ्जाको भिरकोट नगरपालिका–५ घर भई काठमाडौँको सानो भर्‍याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल रहेका छन्।

त्यसैगरी काठमाडौँ महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ घर भई काठमाडौँको शङ्खमूल बस्ने ५७ वर्षीय स्वयम् कृष्ण निरौला पनि नियन्त्रणमा परेका छन्।

सेवाग्राहीलाई दुःख तथा हैरानी दिएको जनगुनासोका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।