जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार १७:४७

प्रधानमन्त्री कार्यालयको ११ दिनको प्रगति विवरण सार्वजनिक, तल्लो अरुणको निर्माण प्रक्रिया अघि बढ्यो


काठमाडौँ, मङ्सिर ११ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्सिर १ देखि ११ गतेसम्म भएका कामकारबाही तथा कार्यसम्पादनको प्रगति विवरण सार्वजनिक गरेको छ।

शुक्रबार पत्रकार सम्मेलन गरी कार्यालयले विभिन्न मन्त्रालय तथा मातहतका निकायबाट भएका काम, निर्णय र आगामी योजनाबारे जानकारी दिएको हो।

कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि तयार पारिएको एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरिएको छ। मङ्सिर ८ गते बसेको समन्वय तथा सहजीकरण समितिको बैठकले बाँकी निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ।

नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ। त्यस्तै, प्रधानमन्त्री कार्यालयअन्तर्गतका निकायको आर्थिक वर्ष २०८२/८३ को व्यवस्थापन परीक्षण प्रभावकारी बनाउन पदाधिकारीसँग छलफल गरी आवश्यक निर्देशन दिइएको कार्यालयले जनाएको छ।

मङ्सिर १० गते बसेको वरिष्ठ व्यवस्थापन समूहको बैठकमा प्रशासनिक तथा व्यवस्थापकीय विषय, कार्यप्रगति, विद्यमान समस्या र आगामी कार्यदिशाबारे छलफल भएको थियो।

सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन भइरहेका वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपन हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ। राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि पनि सुझाव लिएर परिमार्जन भइरहेको छ।

सरकारी निकायबाट सञ्चालन भएका सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता मूल्याङ्कन गर्न तथा दोहोरोपन हटाउन सहसचिवको नेतृत्वमा अध्ययन कार्यदल गठन गरिएको छ। नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीतिको तयारीसमेत अघि बढाइएको छ।

यसैबीच, राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा मङ्सिर १० गते राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र नेपाल प्रहरीलगायत निकायका अधिकारी सहभागी भएका थिए।

केही समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणाली प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ।

लगानी बोर्डको कार्यालयले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ। भारतीय कम्पनी एसजेभीएन लिमिटेड छनोट भएको उक्त परियोजनाको प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ र ७ गतेको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गरेका थिए। परियोजनाको पहिलो प्याकेजअन्तर्गत भारतीय रुपैयाँ ११ अर्ब ४९ करोड २१ लाखको ठेक्का आह्वान भइसकेको छ। सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श दिइएको छ। सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत भई जारी भएको छ।

नयाँ नेपाल इलेक्ट्रोनिक सरकारी खरिद प्रणाली कात्तिक १७ गतेदेखि सञ्चालनमा ल्याइएको छ। प्रणालीको प्रयोगकर्ता स्वीकृति परीक्षण गरी आवश्यक सुधारका लागि सुझावसमेत दिइएको कार्यालयले जनाएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले प्राविधिक परीक्षणमा देखिएका कैफियतको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा टोली परिचालन गरेको छ। काभ्रेका सार्वजनिक निकायमा कार्यरत कर्मचारीको आचारसंहिता पालना अवस्थाबारे अनुगमन गरिएको छ। मोरङ, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, खोटाङ र रामेछापलगायत जिल्लामा पनि सेवा प्रवाह, आचारसंहिता तथा सदाचारसम्बन्धी अनुगमन र सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि टोली गठन गरिएको छ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी जग्गाको मङ्सिर १० गते अनुगमन गरिएको छ। सम्पत्तिको संरक्षण तथा दिगो उपयोगमार्फत आय आर्जन गरी राष्ट्रहितमा प्रयोग गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ। ट्रष्टले लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति पनि गठन गरेको छ।

प्रवक्ता अर्यालका अनुसार भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मङ्सिर ११ गते बिहान ९ बजेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ मौज्दात रहेको छ। कोष सञ्चालन समितिको भदौ १६ गतेको निर्णयअनुसार उक्त कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।