रामेछाप, मंसिर १२ । रामेछापको खाँडादेवी गाउँपालिकाले न्यायिक समितिको काम, कर्तव्य र अधिकार तथा सामुदायिक मेलमिलापसम्बन्धी जानकारी समुदायस्तरसम्म पुर्याउने उद्देश्यले विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई न्यायिक समितिको भूमिका, जिम्मेवारी र अधिकारका विषयमा जानकारी गराइएको छ। साथै, स्थानीयस्तरमा उत्पन्न हुने विवाद सामुदायिक मेलमिलाप तथा मेलमिलापकर्तामार्फत कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत सहजीकरण गरिएको गाउँपालिका उपाध्यक्ष रमा घिसिङले जानकारी दिनुभयो।
उपाध्यक्ष घिसिङका अनुसार विद्यार्थीमार्फत न्यायिक समिति र मेलमिलापसम्बन्धी जानकारी सहज रूपमा परिवार तथा समुदायसम्म पुर्याउन सकिने भएकाले विद्यालयलाई सचेतना कार्यक्रमको माध्यम बनाइएको हो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई न्यायिक समितिको काम र सामुदायिक मेलमिलापबारे जानकारी गराउँदा उनीहरूमार्फत समुदायका अन्य व्यक्तिसम्म पनि सूचना पुग्ने विश्वासका साथ विद्यालयमा कार्यक्रम सञ्चालन गरेका हौँ।”
कार्यक्रममा सहभागी विद्यार्थीहरूले कक्षामै बसेर सामुदायिक मेलमिलाप, न्यायिक समितिको काम तथा विभिन्न कानुनी व्यवस्थाबारे नयाँ जानकारी प्राप्त गरेको बताएका छन्।
भीमेश्वर प्रसुन कँडेल माध्यमिक विद्यालय, रजगाउँका प्रधानाध्यापक भरत भुजेलले कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक तथा उपयोगी ज्ञान प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्न सहयोग पुग्नेछ।
त्यसैगरी, प्रयागेश्वर माध्यमिक विद्यालय, पकरबासका प्रधानाध्यापक हरिनारायण श्रेष्ठले न्यायिक समिति र सामुदायिक मेलमिलापले स्थानीयस्तरमा देखिने विभिन्न समस्या तथा विवाद सहज रूपमा समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
गाउँपालिकाकी न्यायिक सहजकर्ता पवित्रा मानन्धरका अनुसार गाउँपालिकाभित्रका श्री माध्यमिक विद्यालय, राकाथुम; भीमेश्वर प्रसुन कँडेल माध्यमिक विद्यालय, रजगाउँ; प्रयागेश्वर माध्यमिक विद्यालय पकरबास र मानेडाँडा माध्यमिक विद्यालय पिङखुरीमा कार्यक्रम सञ्चालन गरिएको हो।
विद्यालय तहबाटै कानुनी सचेतना अभिवृद्धि गर्दै न्यायिक समिति र सामुदायिक मेलमिलापको पहुँच समुदायसम्म विस्तार गर्ने गाउँपालिकाको अभियानले स्थानीय विवादलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्