जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार २०:१५

छठघाटमा रुङ्न बसेका वृद्धको हत्या आरोपित छिमेकी पक्राउ, प्रहरीको गोली लागेर घाइते


काठमाडौं, मंसिर १२ । धनुषामा छठघाटमा पूजासामग्री रुङ्न बसेका ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा फरार रहेका छिमेकी पक्राउ परेका छन् । भारततर्फ भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा शहीदनगर नगरपालिका–२ निवासी ३० वर्षीय जयकुमार यादव रहेका छन् । उनी बालक दास नामले समेत चिनिन्छन् ।

गत कात्तिक २९ गते शहीदनगर नगरपालिका–२ स्थित धनी पोखरीमा छठघाट बनाएर पूजासामग्री रुङ्न बसेका रामजतन यादव भोलिपल्ट बिहान करिब ६ बजे मृत फेला परेका थिए । घटनास्थलमा रगतका दाग र धारिलो हतियार भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पुरानो रिसइबीका कारण जयकुमारले कस्सीले अनुहारमा प्रहार गरी रामजतनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि भारततर्फ फरार भएका यादव जटही सीमाक्षेत्रमा लुकिछिपी बसेको सूचना पाएपछि प्रहरीले मंसिर १२ गते उनलाई पक्राउ गर्न खोजेको थियो । तर प्रहरी टोलीलाई देखेपछि उनी भारततर्फ भाग्न खोजेका थिए ।

प्रहरीका अनुसार आत्मसमर्पण गर्न दिएको चेतावनी बेवास्ता गर्दै यादवले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेका थिए । त्यसपछि प्रहरीले चार राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको गोली लागेर यादवको बायाँ तिघ्रामा एक र दायाँ छडामुनि दुई गरी तीन गोली लागेको छ । घाइते उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।