जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार २०:२३

सीमा विवाद नउठाई फर्किनुले प्रधानमन्त्रीको दोहोरो चरित्र देखियो : कांग्रेस


काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाइएको भन्दै आपत्ति जनाएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास रहेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्रीले विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा विवादका विषयमा कडा अभिव्यक्ति दिने गरे पनि कूटनीतिक संवादको अवसर पाउँदा ती विषय नउठाएको उहाँको आरोप छ । सीमा विवादको विषयमा छलफल नै नगरी फर्किनुले प्रधानमन्त्रीको दोहोरो चरित्र देखिएको पौडेलले दाबी गर्नुभयो ।

उहाँले विगतमा प्रधानमन्त्रीले सीमा विवादका विषयमा दिएका अभिव्यक्ति लोकप्रियता हासिल गर्ने उद्देश्यले गरिएको राष्ट्रवादको प्रदर्शन मात्र रहेको पुष्टि भएको टिप्पणी गर्नुभयो ।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै पौडेलले दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना रहेको बताउनुभयो । सीमा विवादलगायत लामो समयदेखि समाधान हुन नसकेका संवेदनशील विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउन निरन्तर, गम्भीर र परिणाममुखी पहल आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका कतिपय सहमति सकारात्मक रहेको उल्लेख गर्दै कांग्रेसले ती सहमति कार्यान्वयनमा जोड दिनुपर्ने धारणा पनि सार्वजनिक गरेको छ ।