काठमाडौं, मंसिर १२ । प्रधानमन्त्री बालेन्द्र शाह चिनियाँ नयाँ वर्षअघि नै चीन भ्रमणमा जाने तयारीमा रहनुभएको छ ।
भर्खरै भारत भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री शाहको चीन भ्रमणबारे काठमाडौं र बेइजिङबीच छलफल सुरु भएको छ । परराष्ट्र मन्त्रालयका अधिकारी तथा मन्त्रीहरूले चिनियाँ पक्षले प्रस्ताव गर्ने मितिअनुसार प्रधानमन्त्रीको भ्रमण आगामी जनवरीमै हुन सक्ने संकेत गरेका छन् ।
चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री शाहलाई सकेसम्म चाँडै चीनमा स्वागत गर्न बेइजिङ तयार रहेको सन्देश दिनुभएको छ । भारत भ्रमणअघि लामो समय चीन बसेर फर्किनुभएका राजदूत माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलगायतसँग भेटवार्ता गर्नुभएको थियो ।
ती भेटमा राजदूतले भ्रमणको निश्चित मिति प्रस्ताव नगरे पनि फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै प्रधानमन्त्रीलाई स्वागत गर्न चीन इच्छुक रहेको संकेत दिनुभएको थियो ।
सरकारी अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह पनि चीन भ्रमणका लागि इच्छुक हुनुहुन्छ । चिनियाँ पक्षबाट भ्रमणको मिति प्रस्ताव भएपछि त्यसअनुसार आवश्यक निर्णय गरी तयारी अघि बढाइने एक मन्त्रीले बताउनुभएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन ।













प्रतिक्रिया दिनुहोस्