जनता टाइम्स

३ चैत्र २०७६, सोमबार १३:५०

कारोनाको त्रासमा अबैध धन्दा चलाउन खोजेपछि..


काठमाडौं, चैत ३ । माक्सको कालोबजारी भैरहेको विशेष सूचनालाई पछ्याउँदा नेपाल प्रहरीले तीन दिनमै ठूलो सफलता हात पारेको छ । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मारी ११ लाख थान माक्स बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि नगरपालिका १० विष्णुदेवीमा हात लागेको छ । प्रहरीले सो स्थानमा आज छापा मार्दा ८ लाख ४९ हजार ६ सय थान सर्जिकल माक्स बरामद भएको हो ।

आइतबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी बृत्त थानकोट प्रभाग बलम्वुको संयुक्त प्रहरी टोलीले विष्णुदेवी–१० मा रहेको रोहित श्रेष्ठको घरको गोदाममा छापा मारेको थियो । सो गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासन र प्रहरीले सिलबन्दी गोदाम शिलबन्दी गरेको थियो । प्रहरीले यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान माक्स बरामद गरेको छ । शनिबारयता काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा लुकाएर राखेको १० लाख ९५ हजार थान माक्स बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ८ लाख ४९ हजार थान माक्स बरामद भएको बताउनु भयो । डिएसपी श्रेष्ठका अनुसार माक्स सहित केही व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी रहेका छन् ।

पक्राउ परेका विरूद्ध कालोवजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ वमोजिम बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मुल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने नियतले डिलर वा एजेण्डलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ ।