जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १८:१६

कोरोना प्रभावित ५५ देशबाट नेपाल आउन प्रतिबन्ध : कुन–कुन देशबाट आउन पाईंदैन नेपाल ? (सूचीसहित)


काठमाडौं, चैत ५ । सरकारले कोरोना भइरस (कोभिड(१९) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको कोरोना बैठकले आज यस्तो निर्णय गरेको हो ।

बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाउन निर्णय गरको छ । समितिको निर्णयअनुसार यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।

कहिले के निर्णय भयो ?

फागुन १८ : चीन, दक्षिण कोरिया, इरान, इटली र जापानका नागरिकलाई अनअराइल भिसा नदिने निर्णय । नेपाल भ्रमण वर्ष, सगरमाथा संवाद लगायतका अन्तराष्ट्रिय सभा समारोह स्थगित ।

फागुन २२ : चीन, दक्षिण कोरिया, इरान, इटली र जापान तथा ती मुलुकलाई ट्रान्जिट बनाएर आउनेलाई कोभिड १९ बाट संक्रमित नभएको स्वास्थ्य परीक्षणको प्रमाण पेश गर्नुपर्ने ।

फागुन २९ : सबै विदेशीलाई दिइँदै आएको अनअराइभल भिसा स्थगित गर्ने निर्णय । नेपाल प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टाइन अनिवार्य ।

चैत ५ : युरोप, पश्चिम एसिया लगायत खाडी क्षेत्र, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट नेपाल आउन प्रतिवन्ध ।

समितिले यो निर्णयलाई तत्कालै बिदेशस्थित कुटनीतिक नियोगमा पठाएर कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ । यो निर्णयले ५५ देशबाट नेपाल आउन पाइने छैन । समितिको बैठकले ट्राभल एड्भाइजरी जारी गरेको अवधिमा हवाई टिकट रद्द गर्दा पुरै रकम फिर्ता दिन र यात्रा मिति परिर्वतन गर्दा शुल्क नलिन वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।