जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १३:३६

डाकियो मन्त्रिपरिषद बैठक : यस्ता छन एजेण्डा


काठमाडौं, चैत ९

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । मिर्गौला प्रत्यारोपणपछि आइतबार पहिलो पटक उहाँले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । यसअघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो। उक्त बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । समितिले कोरोना संक्रमण हुन नदिन जोखिम व्यवस्थापनको तयारी तीव्र रूपमा अघि बढाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापकीय तयारी गरेको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकमा कोरोनासँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने स्रोतले जनाएको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आह्वान गर्दै ‘लक डाउन’ गर्नुभएको थियो ।

प्रधानमन्त्रीले सम्बोधनमा टेलिफोन, यातायात, प्रेस, सञ्चार, खानेपानी, पर्यटन, इन्धन, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स, औषधि विक्री वितरण, फोहोरमैला व्यवस्थापन, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुलगायत राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि नगर्न आह्वान गर्नुभएको थियो ।

उहाँले कोरोना संक्रमण रोक्न सर्वसाधारणलाई विशेष आह्वान समेत गर्नुभएको छ । सम्बोधनको सुरुमै आफ्नो स्वास्थ्य नभएर जनस्वास्थ्यको बारेमा विमर्श गर्न उपस्थित भएको बताउनुभएको उहाँले नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै सबैलाई सुरक्षित रहन आह्वान गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँले आम सर्वसाधारणलाई सेल्फ क्वारेन्टाइन अर्थात् सकेसम्म घरमै बस्ने, भीडभाडबाट टाढै रहने, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्ने, चिकित्सकको सल्लाह पालना गर्न, सावधान हुन, आतंकित नहुन, धैर्यवान हुन, संयमता अपनाउन, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुन आग्रह गर्नुभएको थियो ।