जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार २०:१०

ओएनएफ कतारले तय गर्यो बिशेष प्रशिक्षण, एमाले महासचिव पोखरेल प्रमुख अतिथी


कतार, जेठ ११ । प्रवासी नेपाली मञ्च (ओएनएफ) राष्ट्रिय कमिटी कतारले नेपालको राजनीतिक अवस्था र सरकारको गरिरहेको कामसहित समसामयिक बिषयमा बिशेष प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा उही जुन ६ तारिक कतारमा बिशेष प्रशिक्षण कार्यक्रम तय भएको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो ।

ओएनएफ कतारका पूर्वअध्यक्षसमेत रहनुभएका उपसचिव पोखरेलका अनुसार प्रशिक्षणमा प्रवासी नेपालीको समस्या र चुनौतीसँगै समाधानको उपाय, नेपालमा बिकसित राजनीतिक घटनाक्रम, समृद्ध नेपाल : सुखी नेपाली अभियानमा प्रवासमा रहेका सदस्यहरुको भूमिकालगायतका बिषयमा प्रशिक्षण हुनेछ । यही जुन ८ र ९ तारिक हुने युरोप बैठकका लागि महासचिव पोखरेल कतारहुँदै जाने कार्यक्रम तय भएको छ ।

उहाँसँगै उहाँकी पत्नी नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्य र प्रवासी नेपाली मञ्चका युरोप इञ्चार्ज रहनुभएका केन्द्रीय सदस्य घनश्याम पाण्डे सहभागी हुने तय भएको उपसचिव पोखरेलले जानकारी दिनुभयो ।

‘महासचिव कमरेडलाई प्रमुख अतिथी बनाएर कतारमा बिशेष प्रशिक्षण आयोजना गरिएको छ । युरोप बैठकमा सहभागी हुन जाने क्रममा कतारमा ट्राञ्जिट रहेकोले एक दिन महासचिवलाई कतारमा उपस्थित गराएर पार्टीको तर्फबाट प्रष्ट पार्नुपर्ने कुरासहित बिशेष प्रशिक्षण तय गरिएको हो,’ ओएनएफका उपसचिव तथा प्रचार बिभाग प्रमुख पोखरेलले जनताटाइम्स डटकमसँग भन्नुभयो ।

प्रशिक्षणमा सहभागी हुन कतारमा रहेका आृएनएफका सवै सदस्यलाई अपिल गर्दै पोखरेलले समय ब्यवस्थापन गरी कतारमा रहेका ओएनएफका सदस्यको मनोवल उच्च पार्ने काम गरेको भन्दै महासचिव शंकर पोखरेलप्रति आभारसमेत प्रकट गर्नुभएको छ । ‘हाम्रो आग्रहलाई स्वीकार गरेर महासचिव कमरेडले एक दिन कतारका लागि छुट्याउनु भएको छ, यो हाम्रो लागि निकै खुसीको बिषय हो,’ पोखरेलले भन्नुभयो ।