कि यही सरकारलाई आवश्यक सुझावसहित पूरै कार्यकाल खुरुक्क काम गर्न दिनुस, नत्र ‘नाइँ मलाइ त्यै कुर्सी चाहिन्छ,’ भन्ने गीत गाउनेहरू को को हुनुहुन्छ ! ती मध्ये १२ जनाको सूची बनाउनुस, अनि करिब तीन वर्ष बाँकी अवधिका लागि तीन–तीन महिना प्रधानमन्त्री हुने सहमति गर्नुस र त्यसपछि भोट माग्न होइन, झोलीतुम्बा बोकेर भिक्षा माग्न हिड्नुस !
प्रा.डा. ऋषिराम शर्मा
मुलुक पुनः टीकापुर र गौरपथतर्फ लम्कने लक्षण देखिँदो छ । विद्वेष र घृणाको त्यतिबेलाको निभिसकेको खरानी खोस्रेर आगाको फिलिङ्गोमा स्वार्थका रोटी सेक्न हिजो त्यो पथको विरोध गर्ने आदरणीय नेताहरू आज त्यही आगो सल्काउने अभियानमा लागेको देखिनु विडम्बनाको विषय देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको अभिधा अर्थ अध्यादेश हो, जो फिर्तापश्चात त्यसको औचित्य सकिनु पर्ने हो । त्यसपछि पनि राजीनामाका रटानको लक्षणा र व्यञ्जना अर्थ नेपालको राजनीतिलाई पुनः २०६३/६४ को अराजकतातिर उल्टो गतितिर लैजानु र मुलुकमा पुनः कैयौँ काण्डका श्रृङ्खला दोहोर्याउनेहरूका लागि मलजल गर्नु हो र त्यतैतर्फ मुलुक लम्काउने प्रच्छन्न प्रयास हो भन्ने बझ्नु पर्ने हुन्छ !
आदरणीय माधव नेपाल, झलनाथ खनाल र डा. भीम रावलहरू साँक्षी बसेर यो मुलुक त्यतातिर जाने सङ्केत देखिँदा मुलुक झन दुखी छ । हो, केपी ओलीले उहाँहरूको चित्त निकै नहुने गरी दुखाउनु भएको होला, त्यसका केही गुनगुन मिडियामार्फत हामीले पनि नसुनेको होइन । पार्टीको प्रधानमन्त्री भएपछि सबैलाई समेटेर लैजानु पर्नेमा आफ्ना र आफ्नो क्षेत्रकालाई मात्र अवसर दिनु भो होला र आदरणीय कामरेडहरूका पक्षका भएकै कारणले दिनुपर्ने नियुक्तिका धुपधजा र मान मनितो राख्नु भएन होला । र उहाँका नजिक बस्नेहरूका केही तीखा वचनवाणले कैलेकार्ही मात्र होइन, पटक पटकै सही, यहाँहरूको हृदय भेदन भए होला र त्यो पनि गाइँगुइँ सुनिएकै हो र अनुभूत गरिएकै हो ।
यो दुई वर्षका अवधिमा उहाँमा अलि घमण्ड देखिए होला, संविधान निर्माण गर्दैगर्दा मुलुकमा मँडराएको त्यो राज्यका बुताबाट बाहिर गइसकेको राजनीतिको लिकलाई उहाँकै चट्टानी अडानले उपयुक्त ट्रयाकमा ल्याएको कुरा उहाँले नभने पनि आम चुनावमार्फत आम जनताले पत्याएपछि मानवीय स्वभावगत अहम्ले फणा उठाए होला ! उहाँको अहमको फणालाई उठ्न नदिनु र कार्यशैलीमा सुधार ल्याउनु पो उपयुक्त समाधान होला ! तर, के यस्तो आक्रोशको प्रत्युत्तर पुनः मुलुकलाई पुरानै अवस्था वा विग्रहतर्फ फर्काएर दिनु उपयुक्त हो त ?
संसार कोरोनातिर लागिरहेछ, तर नेकपाका नेताको नजरले कुर्सीतिर घुरेर हेर्दै छ । समस्त भूमण्डलका मुलुक ‘कोभिड १९’ सँग भिडिरहेछन् तर नेकपाका नेताहरू एकआपसमा ‘कोकोभिड ७७’ मा पाखुरा सुर्कंदै भिड्ने सुरसारमा छन । नेपालमा विद्रोही समूह विप्लव समूहले, अफगानिस्तानमा तालिबानले र प्यालेस्टाइनी विद्रोहीहरूले समेत निशर्त हतियार बिसाएर कोभिड–१९ विरुद्ध भिड्न सरकारको समर्थन गरिरहेको विश्व परिस्थिति छ । यहाँ भने चुनावका बेला सुकिला लुगा लगाएर जनताका घर आँगनमा गई समृद्धि र स्थिरताको सपना बाँड्ने नेताहरू यो माहामारीमा कुर्सीका लागि र मुलुकलाई पुनः दश वर्ष पुरानो जातीय र क्षेत्रीय द्वन्द्वमा होम्नका लागि निभिसकेको खरानीमा आगो खोज्न त लागेका छैनन् ? यसरी हिजोका आदर्श र अग्ला नेताहरू जनताका नजरमा लिलिपुट हुँदैछन् र उनीहरूको आदर्श निर्वस्त्र हुँदो छ ।
यस्तो लाग्दै छ ! दुई तिहाइको बालीबाट भित्र्याएको भकारीको अन्न अहिले बिउ पनि नराखेर खाने होडबाजी छ । कसैलाई पनि जनताका बीच गएर यस्तो जनमत ल्याउन सकिन्छ भन्ने विश्वास चर्मराएको छ । त्यसैले अहिले सबैलाई यही अवधिभित्रै सबैथोक हुनु छ । कामरेड माधव नेपाल आमरुपमा पार्टीमा पद्धति र विधिको कुरा गरिरहने वरिष्ठ नेता हुनुहुन्छ । लामो समय उहाँले पार्टीको नेतृत्व पनि गर्नुभएको छ । उहाँ गत महाधिवेशनमा कामरेड केपी ओलीबाट पराजित हुनुभएको हो । चुनावमा उठेपछि हारजित स्वाभाविक कुरा हो ! उहाँ सादगी र इमानदारिताको नमुना मानिनु पनि हुन्छ र हुनुहुन्छ पनि ।
तर अहिले उहाँका नजिक हुँ भन्नेहरूले त्यस्तो पार्टीमा पद्धति र विधिको कुरा गरिरहने माधव कामरेडकै व्यक्तित्व क्षय हुने गरी जुन नेतासँग पराजित हुनु भो, सोही नेताको पदावधि पूरा नहुँदै राजीनामा गर्नुस अथवा अध्यक्ष मलाई छाड्नुस् भन्ने हास्यास्पद स्थितिमा नै कसरी पुर्याए ? पन्ध्र वर्ष उहाँले पार्टी बागडोर हाक्नु भो ! उहाँलाई महाधिवेशनले नै पाँच वर्ष धैर्य गर्न भनेकै छ । तर पनि अहिले दुई अध्यक्ष भएको अवस्थामा थप एक अध्यक्ष बन्ने र त्रीसदस्यीय अध्यक्षमण्डल बनाएर उहाँलाई अध्यक्ष बनाउन भने उपयुक्त नै हुने देखिन्छ ।
कामरेड प्रचण्डले पार्टी एकता गर्दा आफू सुरक्षित रहनकै (साठी प्रतिशतको हिस्सेदार एमालेको बहुमतको खतराबाट बच्नकै ) लागि उहाँकै पहलमा दुई अध्यक्षको सहमतिबाट मात्र पार्टीमा निर्णय हुने कुरा राख्नु भाको हो भन्ने सुनिन्छ । यदी यसो हो भने केपी ओलीलाई निकाल्न जतिजनाले सही गरे पनि केपी ओलीकै सही चाहिने र प्रचण्डलाई पनि जतिजनाले निकाल्न खोजे पनि स्वयं प्रचण्डले नै सही गर्नु पर्ने पो देखियो । त्यसैले महाधिवेशन नहुन्जेल जति उफ्रे पनि पार्टीको पिढीँभन्दा बाहिर कसैले कसैलाई धकेल्न नसक्ने स्थिति नेकपाको विधानमा छ भन्ने पो सुनियो । तर यति हुँदा हुँदै पनि पार्टीको र सरकारका बीचको सम्बन्ध सूत्र मक्किँदै जान लागेको पक्कै हो भन्ने कुरा छताछुल्ल भएको विवादले प्रमाणित गरिसकेको मान्ने हो भने यसलाई राम्रो डोरीले नमक्किने गरी कस्न भने ढिला गर्नुहुँदैन ।
कामरेड केपी ओलीको राजीनामा माग्न जति पनि सकिन्छ तर उहाँले राजीनामा दिन मिल्दैन, पार्टीका वरिष्ठ कामरेडहरू र अन्य असन्तुष्टहरूलाई सम्बोधन गर्ने र दिनुपर्ने ठाउँमा उहाँ नै हुनु भएकाले प्रधानमन्त्रीले राजीनामाबाहेक अरू सबै खालका माग सम्बोधन गर्न भने आवश्यक हुनसक्छ । अध्यक्ष उहाँले महाधिवेशनमा जितेर आउनु भाको हो । त्यो भारी उहाँले महाधिवेशनबाटै बिसाउनु पर्छ । प्रधानमन्त्री संसदीय दलबाट चुनिनु भएको हो र उहाँलाई कि त नेकपाको संसदीय दलबाट विधानअनुरूप हटाउनु पर्यो कि त संसदमा अविश्वासको प्रस्तावबाट । एक व्यक्ति, एक पद भन्ने कुरो अरुका हकमा मिल्ला, प्रधानमन्त्रीको हकमा विचारणीय नै छ ।
किनभने पार्टीको निर्वाचित अध्यक्ष प्रधानमन्त्री हुँदा राजीनामा दिनुपर्ने भए यसअघि प्रधानमन्त्री हुँदा कामरेड प्रचण्ड र झलनाथ कामरेडले पनि त्यस्तो गरे जस्तो लाग्दैन । त्यत्तिकै अहिले नेपाली काङ्ग्रेसले पनि नैतिकता (!) का आधारमा प्रधानमन्त्रीको राजीनामा मागिरहेको छ ! (इटा) भट्टामा जिउँदै जलाएर मान्छे मार्ने र भ्रष्टाचारका आरोपी जोगाउन जुलुस निकाल्ने नैतिकवान् विपक्षीले त्यति त विचरा भन्नै पर्यो ! किनकि आफ्नै दल नेकपाभित्रबाट विपक्षीले भन्दा चर्को आवाज उठाएपछि त प्रतिपक्षीले त्यति नभनेर के गर्नु ?
नेकपामा देखिएको अहिलेको लफडाले केही थान पुराना उखानका नयाँ थान रिमिक्स भर्सन जन्माउने प्रबल सम्भावना छ । ‘कहीँ नभएको जात्रा नेकपामा’ र ‘कामकुरो कोरोनातिर ध्यानजति कुर्सीतिर’, ‘दुईत्याइ आयो दुईत्याइ आयो फुस्सा’, ‘एक दलको भँगाहाले दुईत्याइ पिर्छ’, ‘मच्चियो मच्चियो थच्चियो’ आदि ।
जेसुकै होस् ! संविधान घोषणा हुँदै गर्दा त्यसप्रति विमति राखेर हिड्नु भएका एकजना भूपू प्रधानमन्त्री यसबेला दशगजामा आगो दन्काउनेसँगै कुममा कुम मिलाएर हिँड्नु, टीकापुर काण्डका त्यसबेलाका फरार आरोपीसँग सँगै फोटो खिचाउने व्यक्तिका बीच पुनः गुप्त छलफल हुनु, मालीगाउँको मिटिङमा भारूसमेतको सहमतिमा सरकार गिराउने गुप्त षड्यन्त्रको छनक मिडियामा पोखिनु र तिनैका दौराका फेर समात्दै (साबिक एमाले) नेकपाका अग्र्यानिक वरिष्ठ नेताहरू समेत अहिले आफ्नै प्रधानमन्त्रीको राजीनामा माग्नुका समष्टिगत अर्थभित्र मुलुकको गतिलाई स्थिरता र समृद्धि पथतर्फबाट फरक्क फर्काई पुनः टीकापुर र गौरपथतर्फ लैजाने कागजमा ल्याप्चे लाउन किन तम्सिनु भो ? प्रश्न गम्भीर छ !
र, अन्त्यमा कि यही सरकारलाई आवश्यक सुझावसहित पूरै कार्यकाल खुरुक्क काम गर्न दिनुस, नत्र ‘नाइँ मलाइ त्यै कुर्सी चाहिन्छ,’ भन्ने गीत गाउनेहरू को को हुनुहुन्छ ! ती मध्ये १२ जनाको सूची बनाउनुस, अनि करिब तीन वर्ष बाँकी अवधिका लागि तीन–तीन महिना प्रधानमन्त्री हुने सहमति गर्नुस र त्यसपछि भोट माग्न होइन, झोलीतुम्बा बोकेर भिक्षा माग्न हिड्नुस !
प्रतिक्रिया दिनुहोस्